रविलाई म्याद थपका लागि लगियो अदालत, अदालत वरपरको सुरक्षा व्यवस्था कडा

सहकारी ठगी

रविलाई म्याद थपका लागि लगियो अदालत, अदालत वरपरको सुरक्षा व्यवस्था कडा

रविको पक्ष र विपक्षमा नाराबाजी र प्रदर्शन

ra bi court

पोखरा । सहकारी ठगीको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

शुक्रबार पक्राउ परेका पूर्वगृहमन्त्री समेत रहेको रविलाई सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान गर्नका लागि म्याद थप गर्न प्रहरीले अदालत लगेको हो । रविको म्याद थपका लागि कास्की प्रहरीले जिल्ला न्यायाधीश नवराज दाहालको इजलासमा उपस्थित गराएको छ । म्याद थपको बारेमा अहिले बहस भइरहेको छ । सहकारीको रकम अपचलन र संगठित अपराध मुद्दामा अनुसन्धानका लागि उनलाई प्रहरीले शुक्रबार काठमाडौंमा पक्राउ गरी कास्की पठाएको थियो ।

हिजो शनिबार बिदा परेकाले आज उनलाई अदालतमा उपस्थित गराइएको हो । रविलाई अदालत लैजाने क्रममा जिल्ला अदालत कास्की, सहिदचोक र राष्ट्रबैंकचोक लगायतको क्षेत्रमा व्यापक रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ । सहिदचोक, कास्की जिल्ला अदालत परिसर अगाडिदेखि केदारेश्वर मन्दिर प्रवेशद्वारसम्म सवारी साधान आवतजावतमा रोक लगाइएको छ ।

रविलाई अदालत लैजाने क्रममा उनको पक्ष र विपक्षमा नाराबाजी र प्रदर्शन भएको छ । उनका समर्थकले उनको पक्षमा र सहकारी पीडितले विपक्षमा नाराबाजी गरेका हुन् । पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको मुख्य आरोप लामिछानेमाथि छ । रवि लामिछानेको नामै किटान गरेर सहकारी पीडितले २०८० माघ २२ मा जिल्ला प्रहरी कार्यालय कास्कीमा पूरक जाहेरी दिएका थिए । उनीहरूकै जाहेरीका आधारमा पूरक अनुसन्धान भएर लामिछानेको समेत संलग्नता देखिएको छ ।

संसदीय छानबिन समितिले गोर्खा मिडियामा विभिन्न सहकारीबाट ६५ करोड रकम गोर्खा मिडिया प्रालिमा गएको र त्यसको रकम खर्च गर्दा गोर्खा मिडियाका तत्कालीन कार्यकारी निर्देशन लामिछानेको संलग्नता देखिएको निष्कर्ष निकालेको थियो । गोर्खा मिडिया प्रालिका सञ्चालक छविलाल जोशी असोज ६ गते पक्राउ परी कास्की प्रहरीकै हिरासतमा छन् ।

उनको बयान सकिएको छ । थप अनुसन्धानको लागि गत शुक्रबार प्रहरीले अदालतबाट उनलाई थुनामा राख्ने म्याद थपेको छ । कास्की हिरासतमा रहेको छवि र रविलाई छुट्टाछुट्टै हिरासत कक्षमा राखिएको छ । रवि एक्लै एउटा कोठामा रहेका छन् ।

प्रतिक्रिया