काठमाडौं । सहकारीमा प्रत्यक्ष नजोडिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई प्रहरीले समातेको छ । तर, प्रत्यक्ष मुछिएका कांग्रेस उपसभापति धनराज गुरुङ र एमाले नेता तथा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जलालाई अनुसन्धानको दायरामा समेत ल्याएको छैन ।
जिल्ला अदालत कास्कीले शुक्रबार पक्राउ पुर्जी जारी गरेपछि प्रहरीले लामिछानेलाई वनस्थलीस्थित रास्वपा केन्द्रीय कार्यालयबाट नियन्त्रणमा लिएर बेलुका नै सडकमार्गबाट पोखरा पुर् याएको छ । एमाले सांसद सूर्य थापा नेतृत्वको सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय छानबिन विशेष समितिले सहकारी ठगीमा प्रत्यक्ष नजोडिएको, तर गोर्खा मिडियामा आएको रकम परिचालनमा रवि जिम्मेवार हुनुपर्ने निष्कर्ष निकालेको थियो ।
तर, सोही समितिले सहकारी ठगीमा प्रत्यक्ष जोडिएको भन्दै अनुसन्धान गरी कारबाही गर्न निर्देशन दिएका कांग्रेस उपसभापतिसमेत रहेका सांसद धनराज गुरुङले भने अहिलेसम्म उन्मुक्ति पाउँदै आएका छन् । ललितपुरस्थित मितेरी सहकारीको रकम ठगीमा जोगिन उनले श्रीमती ज्योती गुरुङसँग कागजी सम्बन्धविच्छेदसमेत गरेको पुष्ठी भइसकेको छ ।
सहकारीकी महाप्रबन्धकसमेत रहेकी ज्योति र धनराजसहितको संलग्नतामा १४ करोड ८१ लाख अपचलन गरेको सहकारीको दाबी छ । धनराजले २९ फागुन ०७६ मै ज्योतिसँग डिभोर्स भएको दाबी गर्दे आएका छन् । तर, त्यसको एक वर्षपछि थप ऋण लिँदा उनले हकदाबीवालाको नाममा ज्योतिलाई नै श्रीमती उल्लेख गर्दै ल्याप्चे लगाएका थिए । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।