पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अनुसन्धानकाे लागि पक्राउ गर्न कास्की जिल्ला अदालतबाट पुर्जी जारी भएको छ । सहकारी ठगीको अभियोगमा पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई पक्राउ गर्न अदालतले पुर्जी जारी गरेको प्रहरी स्राेतले बतायाे । जिल्ला अदालत कास्कीका न्यायाधीश कृष्णजंग शाहको इजलासले लामिछानेलाई पक्राउ गर्न शुक्रबार अनुमति दिएको हो । लामिछानेमाथि अनुसन्धान गर्नका लागि जिल्ला प्रहरी कार्यालय कास्कीले माग गरे अनुसार अदालतले पक्राउ पुर्जी जारी गरेको प्रहरी स्रोतले बताएको छ ।
पोखराको सूर्य दर्शन सहकारी लगायत देशभरका आधा दर्जन सहकारी ठगीका मुख्य नाइके जिबी राईका व्यावसायिक साझेदारका रुपमा आरोपित लामिछानेलाई पक्राउ गर्न कास्की प्रहरीले अदालतबाट अनुमति लिएको हो । लामिछाने विरुद्ध कास्की प्रहरीमा उजुरी परेको छ ।
लामिछानेसँगै राईका व्यावसायिक साँझेदार रहेका छविलाल जोशी असोज ६ गते पक्राउ परेका हुन् । लामिछानेलाई पनि त्यही बेला नै पक्राउ गरिने हल्ला चलेकोमा रास्वपाका कार्यकर्ताले चर्को विरोध गरेपछि प्रहरीपछि हटेको थियो ।
लामिछाने सञ्चालक रहेको गोर्खा मिडिया नेटर्वक प्रालिले सहकारी रकम डुबाएको प्रमाणित भइसकेको छ । रवि स्वयमले गोर्खा मिडिया नेटवर्कमा गएको रकमको हिस्साको जिम्मेवारी लिने बताएका छन् । यसअघि रविले प्रहरी महानिरीक्षकले नै ‘क्लिन चिट्’ दिइसकेको भन्दै पनि हिँडेका थिए । सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा दुरुपयोग गरेको अभियोगमा पूर्वडिआइजीसमेत रहेका छविलाल पक्राउ परेपछि रवि पनि पक्राउ पर्ने प्राय निश्चित नै थियो । तर प्रतिनिधि सभाको निर्वाचित सांसदसमेत रहेका लामिछानेलाई दशै पनि मान्न नदिएर समाउँदा गलत सन्देश जान सक्ने आँकलन गरेर गृह प्रशासनपछि हटेको स्रोतको दाबी छ ।
गत असोज ६ गते पक्राउ परेका पूर्वडिआइजी छविलाल जोशीले रवि लामिछानेलाई कहिले पक्राउ गर्ने भन्दै प्रहरीसँग प्रश्न गरेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई पक्राउ गरी पोखरा पठाउने क्रममा सञ्चालकलाई पक्राउ गर्नुभयो, एकल चेक काट्ने र रकम अपचलन गर्नेलाई कहिले पक्राउ गर्ने हो भाइ ? भनेर प्रश्न गरेका थिए । उनले प्रश्न गरेको करिब एक महिनामा प्रहरीले रविलाई पक्राउ गरेको छ ।
उनले रविलाई पक्राउ गरेपछि मात्र आफूलाई पक्राउ गर्नुपर्ने बताएको उनलाई पक्राउ गर्न गएका एक प्रहरी अधिकृतले बताएका थिए । कास्की प्रहरी हिरासतमा रहेका जोशीको बयान सकिएको छ ।