पोखरा । पोखराको पर्यटकीय केन्द्र लेकसाइडका होटलमा चाडपर्वका अवसरमा छुट दिइने भएको छ । पर्यटनको राजधानी पोखरामा होटल संघ नेपाल पोखरामा आवद्ध होटलहरुमा विजयादशमी, दिपावली, छठलगायत चाडपर्वका अवसरमा ३० प्रतिशत छुट दिइने भएको हो ।
संघका अध्यक्ष लक्ष्मण सुुवेदीले चाडपर्वलाई लक्षितगरी संघ सदस्यअन्तर्गतका होटल प्रतिष्ठानमा दसैंदेखि तिहारसम्म प्रकाशित दररेट (आवासमा) मा पाहुनालाई ३० प्रतिशतसम्म छुटको घोषणा गरिएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । भ्रमण र पदयात्राका लागि पोखरा र सिंगो गण्डकी प्रदेश सबै मौसमका लागि उपयुक्त छ भन्ने मान्यताअनुरूप विगत केही वर्षदेखि विभिन्न प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको उनले बताए ।
भूकम्प, नाकाबन्दी, कोभिड–१९ महामारी, हवाई दुर्घटनालगायत कारणले सिथिल भएको पर्यटन क्षेत्र हालैको वर्षापछिको बाढीपहिरो तथा डुबानले थप प्रभावित भएको संघका महासचिव राजेन्द्र ढकालले बताए ।
संघका द्वितीय उपाध्यक्ष गणेशराज पहारीले पृथ्वीराजमार्गको पोखरा–मुग्लिन खण्डको स्तरोन्नति काम पनि धेरै हदसम्म अगाडि बढेको, राजमार्ग खुला अवस्थामा नै रहेको तथा पोखरा जोड्ने अन्य राजमार्गको अवस्थासमेत सुरक्षित नै रहेकाले पोखरा भ्रमणक लागि सबैलाई आह्वान गरे ।