पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १४ स्थित समावेशी टोलमा रहेको समावेशी आमा समूहको प्रथम साधारण सभामा ९ जना सम्मानित भएका छन् ।


सामाजिक कार्यमा सक्रिय समूहका ज्येष्ठ सदस्य ओमा गुरुङ, लालकुमारी गुरुङ, अक्षरी सुवेदी, कमलादेवी सुनुवार र कक्षा १२ उत्तीर्ण गरेका विवेक खतिवडा, सन्देश श्रेष्ठ, पवित्रा गिरी र सहारा खतिवडालाई सम्मान गरिएको हो ।

२०८० सालको प्रभावशाली ५० महिलाको सूचीमा पर्न सफल यसै टोलकी अधिवक्ता कुञ्जनी प्यासी परियारलाई पनि सम्मान गरिएको हो । पोखरा महानगरपालिकाका उपमेयर मञ्जुदेवी गुरुङले उनीहरुलाई सम्मान गरेकी हुन्।

कार्यक्रममा बोल्दै उपप्रमुख मञ्जुदेवी गुरुङले महिलाहरु आर्थिक उपार्जनसँग जोडिनु पर्ने बताउँदै आर्थिक रुपमा सवल भए मात्र महिला माथि हुने विभेदलाई हटाउन सकिने बताइन् ।

सम्मानित व्यक्तित्व कुञ्जनी प्यासी परियारले महिला आत्म निर्भर नहुँदासम्म उनीहरुमाथि हिंसा भइरहने बताउँदै छोरीलाई आर्थिक रुपमा आफ्नै खुट्टामा उभिन सक्ने बनाउनेतर्फ अभिभावकले ध्यान दिनुपर्ने बताइन् ।

समावेशी आमा समूहका अध्यक्ष चन्द्रकला कुँवर क्षेत्रीको अध्यक्षता भएको कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर १४ का सदस्य तजुना सिके थापा, समावेशी टोल विकास संस्थाका अध्यक्ष राजु गिरी, संस्थाका सल्लाहाकार घनश्याम पाण्डे लगायतले आमा समूहका गतिविधिका बारेमा चर्चा गरेका थिए ।

कार्यक्रममा सदस्य सविना गुरुङले स्वागत र सञ्चालन सचिव लक्ष्मी खतिवडाले गरेकी थिइन् । आज भएको पहिलो साधारण सभाले अध्यक्ष चन्द्रकला, सचिव लक्ष्मी र कोषाध्यक्ष हुमादेवी पाण्डेले प्रस्तुत गरेको प्रतिवदेन पारित गरेको छ । २०७९ सालमा स्थापना भएको आमा समूहमा ७५ जना सदस्य रहेका छन् र विभिन्न सामाजिक कार्यमा समूह सक्रिय हुँदै आएको छ ।


This will close in 10 seconds