पोखरा । दशैंको आज दोस्रो । नवरात्रको दोस्रो दिन आज नवदुर्गा भवानीको दोस्रो स्वरुप ब्रह्मचारिणीको पूजा आराधना गरी मनाइँदैछ । ब्रह्माको अर्थ तपस्या र चारिणीको अर्थ आचरण गर्ने भन्ने बुझिन्छ । तपस्याको आचरण गर्ने देवीकाका रुपमा ब्रह्मचारिणीलाई लिइन्छ ।
ब्रह्मचारिणी देवीको दाहिने हातमा जपको माला र देब्रे हातमा कमण्डलु हुन्छ । सेतो कपडा लगाएकी, दायाँ हातमा जपको माला, बायाँ हातमा कमण्डलु लिएकी ब्रह्मचारिणीलाई ज्ञान, तपस्या र वैराग्यको देवी पनि मानिन्छ । ब्रह्मचारिणी देवीको आराधना गर्नाले ज्ञान सिद्ध हुनुको साथै विजय प्राप्त हुने विश्वास रहिआएको छ ।
माता ब्रह्मचारिणी देवीको कृपाले तपस्वीको सर्वत्र सिद्धि र विजय प्राप्त हुने मान्यता हिन्दू शास्त्रहरुमा छ । यस दिन कुमारी कन्याहरूको पूजा गर्ने प्रचलन पनि छ । कन्यालाई घरमा बोलाएर पूजा गरी भोजन गराएपछि मात्र आफूले भोजन गर्ने गरिन्छ । शास्त्रीय प्रमाणहरूको आधारमा हरेक शुभकार्यमा गरिने कन्यापुजाका लागि दुई वर्षसम्मका बालिकाहरू योग्य रहेको मानिन्छ । यद्यपि, रजस्वला हुनु पूर्वका बालिका पनि कन्या पूजाका लागि योग्य भएको मान्यता रहेको छ ।
नवरात्रभर पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ ।