पोखराको विन्ध्यवासिनीमा नवदुर्गा महोत्सव

पोखराको विन्ध्यवासिनीमा नवदुर्गा महोत्सव

Mandir-Press-Meet-scaled

पोखरा । पोखराको विन्ध्यवासिनी मन्दिरमा नेपालीहरुको महान पर्व बडादशैंको अवसरमा विगतका वर्ष झैं यसवर्ष पनि नवदुर्गा महोत्सव हुने भएको छ । विन्ध्यवासिनी धार्मिक क्षेत्रविकास समितिको आयोजनामा यहि असोज १७ गते घटस्थापनाको दिनदेखि असोज २५ गते महानवमीसम्म नवरात्री विशेष कार्यक्रम हुने विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले सोमबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।

दशैंको पहिलो दिन अर्थात घटस्थापनाको दिन असोज १७ गते घटस्थापनाको दिन नवदुर्गाका नौ रुप सिंगारिएका नवकन्या, आरुढ नौरथ, विन्ध्यवासिनी मन्दिरको झाँकी तथा विभिन्न जातिका भेसभुषा र सांस्कृतिक झाँकीसहित शोभायात्रा निकालेर जातीय, धार्मिक, सांस्कृतिक, सामाजिक लगायतका पक्षहरुको उजागर गरिने समितिका सदस्य सचिव तीर्थ श्रेष्ठले जानकारी दिए ।

घटनास्थापनाको दिन बिहान ७ बजे विन्ध्यवासिनी पार्कबाट सुरु हुने शोभायात्रा मोहरियाटोल, भैरवटोल, भीमसेन टोल, नालामुख, तेर्सापट्टी, महेन्द्रपुल, चिप्लेढुंगा, सिद्धार्थचोक, रामकृष्णटोल, गणेशटोलहुँदै पुनः विन्ध्यवासिनी मन्दिर प्रांगण पुगेर समापन हुनेछ । मन्दिरमा सोहि दिनदेखि श्रीमददेवी भागवत ज्ञान महायज्ञसमेत प्रारम्भ हुने सदस्य सचिव श्रेष्ठले जानकारी दिए ।

महायज्ञमा महानवमीसम्म हरेक दिन संगीतमय झाँकीसहित श्रीमददेवी भागवतको कथासमेत प्रस्तुत गरिने समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठले जानकारी दिए । उनका अनुसार श्रीमददेवी भागवतको कथा पूर्वाह्न ९ बजेबाट मध्याह्न १२ बजेसम्म र दिउँसो २ बजेबाट अपराह्न ४ बजेसम्म कथा प्रवचन हुनेछ । मन्दिरमा विजया दशमीको नित्य पुजा विहान ४ बजेबाट प्रारम्भ हुनेछ भने ५ बजेबाट दर्शनार्थीका लागि मन्दिर खुल्ला गरिने समितिले जनाएको छ । साँझ ६ बजे भने आरती हुने अध्यक्ष श्रेष्ठले बताए । उनका अनुसार विहान ५ बजेबाट पूर्वाह्न ९ बजेसम्म भजनकिर्तनसमेत हुनेछ ।

प्रतिक्रिया

भर्खरै

Copy - Advertisement


 

This will close in 10 seconds