पोखरा । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै देशमा बंगालको खाडीमा विकसित भएको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहेको छ । कोशी, मधेश ,लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहने छ । सबै प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/चट्यांङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
कोशी, मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ । देशका तराई भू–भागका केही स्थानहरुमा हावा हुरीको समेत सम्भावना रहेको छ ।
आज राति देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहने छ । कोशी, बागमती, मधेश, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्यांङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । देशका तराई भू–भागका केही स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ ।