पोखरा असोज ९ । साफ यु–१७ च्याम्पियनसिप अन्तर्गत समूहको अन्तिम खेलमा नेपालले आज घरेलु टोली भुटानसँग खेल्दैछ । समूह बी मा रहेको नेपाल र भुटानबीचको खेल थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा नेपाली समय अनुसार साँझ पौने ६ बजे सुरु हुनेछ ।
दुईमध्ये एक खेलमा जित र एक खेलमा हारको नतिजा निकालेको नेपालको लागि सेमिफाइनल पुग्न भुटानलाई हराउनैपर्ने दबाब छ । भुटान र पाकिस्तानले समूह बी मा अपराजित रहँदै समान ४ अंक जोडेका छन् ।
गोलअन्तरमा भुटान शीर्ष स्थानमा छ भने पाकिस्तान दोस्रो स्थानमा छ । दुई खेलबाट ३ अंकसहित नेपाल तेस्रो स्थानमा छ । भुटानलाई पराजित गरेमा नेपाल शीर्ष दुईमा रहेर सेमिफाइनल प्रवेश गर्नेछ ।