विविध कार्यक्रम गरी विश्व पर्यटन दिवस पाेखरामा मनाइँदै, आज सातै प्रदेशका पर्यटन मन्त्रीको भेला

विविध कार्यक्रम गरी विश्व पर्यटन दिवस पाेखरामा मनाइँदै, आज सातै प्रदेशका पर्यटन मन्त्रीको भेला

photo world tourism day

पोखरा ९ असोज । पर्यटकीय राजधानी पोखरामा विविध कार्यक्रम गरी विश्व पर्यटन दिवस मनाइने भएको छ । विश्व पर्यटन दिवसको अवसरमा आज संघीयसहित सातै प्रदेशका पर्यटन मन्त्रीको भेला हुँदैछ । सघीय मन्त्रीसहित सबै प्रदेशका मन्त्री मंगलबार साँझसम्म पोखरा आइपुगेको गण्डकी प्रदेशका पर्यटन सचिव कुमानसिंह गुरुङले जानकारी दिए । मन्त्रीहरुकाे भेला लेकसाइडस्थित टिका रिसाेर्टमा हुन लागेकाे हाे ।

बुधबार बिहान नेपाल सरकारका पर्यटन मन्त्री बद्रीप्रसाद पाण्डेको अध्यक्षतामा सातवटै प्रदेशका पर्यटन मन्त्रीहरू सम्मिलित विषयगत समितिको बैठक बस्ने भएको छ । बुधबार दिउँसो गण्डकी प्रदेशका पर्यटन मन्त्रीको अध्यक्षतामा संघीय मन्त्री, मुख्यमन्त्री र सबै प्रदेशका पर्यटन मन्त्री एवम् पर्यटनसम्बद्ध संघ, संस्थाका प्रतिनिधिको सहभागितामा ‘पोखरा पर्यटन राजधानी नीति संवाद’ कार्यक्रम पनि हुँदैछ । संघीय पर्यटनमन्त्री र गण्डकी प्रदेशका मुख्यमन्त्रीले सम्बोधन गर्ने  कार्यक्रममा पोखरा पर्यटन परिषद्, पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारका तर्फबाट कार्यपत्रसमेत प्रस्तुत गरिनेछ ।

आगामी २७ सेप्टेम्बरलाई विश्व पर्यटन दिवसरुपमा मनाइँदैछ विश्व पर्यटन दिवसमा पोखरामा आधा दर्जन बढी कार्यक्रम हुने भएका छन् । ४५ औं विश्व पर्यटन दिवसको नारा टुरिजम एन्ड पिस (पर्यटन र शान्ति) रहेको छ । पर्यटन व्यवसायीहरुको छाता संगठन पोखरा पर्यटन परिषद् आयोजनामा विविध कार्यक्रम हुने भएको छ । यसमा गण्डकी प्रदेश सरकार, उद्योग तथा पर्यटन मन्त्रालय, पोखरा महानगरपालिकाले सहकार्य गर्नेछन् भने नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रवद्र्धक छ ।

परिषद् आयोजनामा ९–१२ असोजसम्म विभिन्न कार्यक्रम हुने परिषद् अध्यक्ष तारानाथ पहारीले पत्रकार सम्मेलनमा जानकारी दिए । उनका अनुसार दिवस अवसरमा नीति संवाद, घरबास कार्यक्रम, पदयात्रा, र्‍याली, रक्तदान, टक सो, पर्यटकलाई सम्मान, पर्वतीय दौड प्रतियोगिता हुँदै छन् । असोज ९ गते पोखरा १९ स्थित रिन्ने नासा होमस्टेमा घरबास कार्यक्रम पनि हुनेछ । १० असोजमा टान गण्डकी आयोजनामा पोखरा–मोरिया–लप्सीबोट–भुकदेउरालीसम्मको पदयात्रा हुनेछ ।

दिवसको मुख्य दिन ११ असोजमा रेबान पोखरा आयोजनामा ‘मिनी सडक महोत्सव’ आयोजना गरिने परिषद् अध्यक्ष पहारीले जानकारी दिए । बेलुका साढे ४ बजेबाट अम्बोटदेखि वाराहीचोकसम्म महोत्सव हुनेछ । सोही दिन बिहान पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र पर्यटक बसपार्कमा पहिला आउने पर्यटकलाई सम्मान गरिनेछ । नाट्टा गण्डकी आयोजनामा पोखरा–६ स्थित नारेश्वर चोकमा रक्तदान कार्यक्रम हुनेछ । पोखरा पर्यटन परिषद् आयोजनामा ‘पर्यटन र शान्त’ शीर्षकमा ‘टक सो’ हुनेछ । १२ असोजमा पोखरा क्लिकको आयोजना र पोखरा पर्यटन परिषद् सहकार्यमा पोखरा–२२ स्थित शान्ति स्तुप र बुद्धपार्क जोड्ने गरी पर्वतीय दौड हुनेछ ।

प्रतिक्रिया