पोखरा असोज ८ । मुस्ताङका ताक्ला गुरुङको १ सय ३ वटा च्यांग्रा ट्रकमा लोड गरी बेपत्ता भएका मोहम्मद फकिर पक्राउ परेका छन् । गत असोज १ गतेदेखि बेपत्ता भएका उनलाई असोज ७ गते पोखरा ७ मासबारस्थित कोठाबाटै पक्राउ गरिएको कास्की प्रहरीले जानकारी दिएको छ ।

विवरण अनुसार गत असोज १ गते मुस्ताङ बारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा नं. ३ बारागुङ बस्ने ताक्ला गुरुङको घरगोठमा गई मोहम्मदसहित ३ जनाले च्यांग्राको मोलमोलाई गरेका थिए । उनीहरुले १ सय ३ वटा च्यांग्राको ४२ लाख तिर्ने कबुल गरेका थिए । रुपन्देही शुद्धोधन गाउँवपालिका वडा नं. ४ स्थायी घर भई पोखरा महानगरपालिका वडा नं. ७ मासबार बस्ने वर्ष ५० को मोहम्मद फकिर समेत ३ जना व्यक्तिहरुले च्यांग्रा खरिद गर्ने जनाएका थिए ।
तर, पैसा अहिले नलिई आएको र पोखरा गएपछी दिन्छौँ भनी विश्वास दिलाई च्यांग्रा धनी ताक्ला गुरुङ समेतलाईसंँगै ल्याएकोमा पोखरा ड्यामसाईडस्थित होटलमा सुतेको अवस्थामा उक्त च्यांग्रा सहितको गाडी लिई सम्पर्क विहीन भएको भन्ने जाहेरीको आधारमा प्रहरीले खोजतलास सुरु गरेको थियो । असोज ३ गते नै ४०/५० वटा च्यांग्रासहितको ट्रक चितवनमा भेटिएको थियो । तर, च्यांग्रा चोरेर गायब हुने फकिर सम्पर्कविहीन नै रहेकोमा उनलाई सोमबार पक्राउ गरिएको हो ।
कास्की जिल्ला अदालतबाट ठगी अपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूरमा छ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको प्रहरीले जनाएको छ । च्यांग्रा असोज २ गते पोखरा वडा नं. २५ घट्टेखोलाबाट अन्य सवारी साधनहरुमा लोड गरी बिक्री बितरण गरेको उनले स्वीकार गरेका छन् ।

This will close in 10 seconds