धनुषा असोज ७ । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट ८ जना थुनुवा फरार भएका छन् । आज बिहान करिब ३ बजेको समयमा हिरासत कक्षको भेन्टिलेसन फोडेर ८ जना फरार भएको जिल्ला प्रहरी कार्यालय स्रोतले जनाएको छ ।
प्रहरी स्रोतका अनुसार एक हिरासत कक्षमा रहेका ९ जना थुनुवामध्ये भेन्टिलेसन फोडेर सबै निस्किएर भागेपनि १ जना पक्राउ परेका छन् । हिरासतबाट फरार भएका थुनुवाहरु लागु औषध र चोरी मुद्दाका अभियुक्तहरु भएको प्रहरीको भनाइ छ ।
नयाँ भवनको १० फिटमाथि पुगेर भेन्टिलेटरको रड काटेर थुनुवाहरु फरार भएको प्रहरीको भनाइ छ । थुनुवाहरुले रड काट्न ह्याक्सो ब्लेडको प्रयोग गरेका थिए । फरार भएका थुनुवाको खोजीको लागि प्रहरी परिचालन गरिएको छ भने सिमा क्षेत्रमा निगरानी बढाइएको छ ।