दशैं लक्षित सार्वजनिक यातायातको अग्रीम टिकट खुला गरिने

दशैं लक्षित सार्वजनिक यातायातको अग्रीम टिकट खुला गरिने

bus

काठमाडौं ५ असोज । नेपालीहरुको महान पर्व दशैं सुरु हुन अब १२ दिन मात्रै बाँकी छ । असोज १७ गते विजया दशमी अन्तर्गत घटस्थापना रहेको छ । घटस्थापनाको दिनदेखि दशैं पर्व सुरु हुन्छ । काम विशेषले आफ्नो थातथलो छाडेर सहर छिरेकाहरु दशैं मनाउन आफ्नो घर फर्किने गर्दछन् ।

दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गरी सार्वजनिक यातायातको अग्रीम टिकट खुलाउन सरकार र यातायात व्यवसायी सहमत भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलमा यातायात व्यवस्था विभाग तथा यातायात व्यवसायीहरुबीच अग्रीम टिकट खुलाउने विषयमा सहमति भएको हो ।

भौतिक पूर्वाधा तथा यातायातमन्त्री देवेन्द्र दाहालको अग्रसरतामा आज भएको छलफलमा सडक विभाग अन्तर्गतका सबै सडक घटस्थापनाअघि नै मर्मतसम्भार गरी यातायात सञ्चालन गर्न सडक विभागलाई निर्देशन दिने निर्णय पनि भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँर, वरिष्ठ उपाध्यक्ष सरोज सिटौला, महासचिव डेगनाथ गौतमलगायतका प्रतिनिधिहरु छलफलमा सहभागी थिए ।

छलफलमा यातायात व्यवसायीहरुले यात्रुको यात्रा सुरक्षित र सहज बनाउन यान्त्रिक परीक्षण गरी सम्बन्धित बसपार्कबाट गन्तव्यस्थलतर्फ जाने गरी व्यवस्थित गर्ने पनि निर्णय भएको छ । विभागलाई यातायात सुधार सुझाव कार्यदलको प्रतिवेदन कार्यान्वयनको विषयमा तत्काल गर्न सकिने विषयहरुको सम्बोधन गर्न पनि मन्त्रालयले निर्देशन दिएको छ ।

यातायात व्यवस्थापनसँग सम्बद्ध अदालतबाट भएका आदेश र फैसला कार्यान्वयनका लागि एक महिनाभित्र कार्ययोजना तयार गरी पेश गर्न पनि विभागलाई निर्देशन दिइएको अध्यक्ष स्वाँरले जानकाी दिए ।

प्रतिक्रिया