माओवादी केन्द्रको गण्डकी प्रदेशस्तरिय परामर्श बैठक सकियो

माओवादी केन्द्रको गण्डकी प्रदेशस्तरिय परामर्श बैठक सकियो

नेकपा (माओवादी केन्द्र) Final

नेकपा (माओवादी केन्द्र) को पोखरामा बसेको दुई दिने गण्डकी प्रदेशस्तरीय परामर्श बैठक सकिएको छ।

पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत पार्टीको करीव एक दर्जन शीर्ष नेताहरुको उपस्थिति रहेको बैठक आइतबारदेखि सुरु भएको थियो।

पार्टी मातहत गण्डकी प्रदेशभित्रका रहेका केन्द्रीय समिति सदस्य र प्रदेश कमिटीका पदाधिकारीहरु बैठकमा सहभागी थिए।

बैठकमा गण्डकी प्रदेशमा कार्यरत केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारी गरी ५९ जनाले पार्टी निर्माणका लागि सुझाव पेस गरेका थिए।

बैठकलाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित केन्द्रीय पदाधिकारीहरूले सम्बोधन गरेका थिए।

बैठकको समापन कार्यक्रममा बोल्दै पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वाधीनता र अहिलेका उपलब्धीको रक्षा अन्यबाट संभव नरहेको बताएका छन्।

उनले माओवादी केन्द्र अहिले पनि देशको महत्वपूर्ण शक्ति रहेको दाबी गरे।

अध्यक्ष प्रचण्डले भने, ‘परिवर्तनका उपलब्धीलाई उल्टाउने षडयन्त्र भइरहेको छ। त्यसमा हामी सबै सजग हुनुपर्दछ। आवश्यक परेको खण्डमा पुनःसंघर्षमा उत्रिएर भएपनि परिवर्तनलाई जोगाउनु पर्दछ।’

उनले पार्टीको प्राथमिकता सरकारमा भन्दापनि पार्टी संगठन निर्माण र विचारको विकासमा लगाएको उल्लेख गरे।

अध्यक्ष प्रचण्डले जनतामा जान र नयाँ विचारको विकासमा लाग्न पार्टीका नेता कार्यकर्तालाई निर्देशनसमेत दिए।

‘हामी सरकारको जोड घटाउमा लाग्ने होइन, अरूले हामीलाई खोज्दै आउने स्थिति हुनसक्छ। अबको कार्यभार पार्टी र विचारको विकास गर्ने गरी लाग्ने हो’, उनले भने।

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक पारित भएसँगै १२ बुँदे सहमति करीब अन्त्य हुन लागेको र देश नयाँ ठाउँमा जान लागेको अध्यक्ष प्रचण्डले बताए।

उनले पार्टीलाई एकताबद्ध बनाउँदै समाजवादी क्रान्तिका लागि तयारी गर्नुपर्नेमा जोड दिए।

उनले भने ‘अहिले समाजवादी क्रान्तिका लागि बस्तुगत आधार तयार भएको छ। त्यसका लागि पहिलो शर्त पार्टीभित्रको एकता हो।’

देशभर परामर्श बैठकको अभियान

केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने दस्ताबेज लेख्नुअघि केन्द्र र प्रदेशका नेताहरूसँग परामर्श गर्ने कार्यक्रमअन्तर्गत परामर्श बैठक सुरु गरिएको हो।

जसअनुसार बागमती, उपत्यका विशेष प्रदेश र सम्पर्क समन्वय प्रदेशको बैठक सम्पन्न भइसकेको छ।

अब, भदौ १२ र १३ गते सुदूरपश्चिम प्रदेशमा त्यस प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीसहितको परामर्श बैठक बस्नेछ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ केन्द्रीय पदाधिकारीले प्रदेशमा कार्यक्षेत्र भएका केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरूको परामर्श लिने गरेका छन्।

प्रदेश परामर्श बैठकमा अध्यक्ष प्रचण्डले सुरुमा विषय प्रवेश गराएर नेताहरूको सुझाव सुन्ने गरेका छन्।

प्रदेश परामर्श बैठकपछि माओवादीको केन्द्रीय कमिटी बैठक बस्नेछ।

केन्द्रीय कमिटीले ठोस निर्णय गरेर नियमित कार्यक्रमिकरुपमा जनतामा जाने माओवादीको तयारी छ।

प्रतिक्रिया