गण्डकी प्रदेश सभाको बैठक भोलि (बिहीबार) बोलाइएको छ।

गण्डकी प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्ति भएको भोलिपल्ट प्रदेश सभाको बैठक बोलाइएको हो।
प्रदेश सभा सचिवालयले सूचना जारी गरी जेठ १७ गते बिहीबार दिउँसो १ बजे प्रदेश सभाको बैठक बस्ने भएकाले उपस्थितिका लागि सदस्यहरुलाई आग्रह गरेको छ।
काँग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेको आग्रहअनुसार नै प्रदेश सभाको बैठक डाकिएको सचिवालय स्रोतले जनाएको छ।
बजेटको सिद्धान्त र प्राथमिकता र प्रस्तुत गर्नका लागि प्रदेश सभाको बैठक डाकिएको हो।
कार्य व्यवस्था परामर्श समितिको बैठक भने बिहीबार बिहान नै बस्ने भएको छ।
जेठ १५ गते दिनको १ बजे बस्ने भनिएको प्रदेश सभाको बैठक अर्को सूचना जारी नभएकासम्मका लागि स्थगित भएको थियो।
यसअघि, प्रदेश सभाको बैठक जेठ ११ गते बसेको थियो।
बजेटको प्राथमिकता र सिद्धान्त प्रस्तुत गर्न भनेर बोलाइएको बैठक प्रमुख प्रतिपक्षी दल काँग्रेस र विपक्षी दल राप्रपाका सांसद अनुपस्थित भएपछि ५ मिनेट बसेर स्थगित भएको थियो।
सामान्य अवस्थामा बजेट पेस हुनुभन्दा १५ दिनअगावै बजेटको प्राथमिकता र सिद्धान्त सदनमा पेस गर्नुपर्ने हुन्छ।
प्रदेशको बजेट असार १ गते ल्याउनुपर्ने प्रावधान छ।

This will close in 10 seconds