सिरोहिया पक्राउसम्बन्धमा पत्रकार महासंघको ध्यानाकर्षण

सिरोहिया पक्राउसम्बन्धमा पत्रकार महासंघको ध्यानाकर्षण

पत्रकार महासंघ

कान्तिपुर पब्लिकेसन्स लिमिटेडका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ।

सिरोहियालाई कान्तिपुर दैनिकको कार्यालय परिसरबाटै पक्राउ गरिएको घटनालाई महासंघले गम्भीरतापूर्वक लिएको जनाएको छ ।

‘सिरोहियाले आफूमाथि लागेको आरोपका सन्दर्भमा न्यायिक छानबिनमा सघाउने प्रतिबद्धता जनाउँदा जनाउँदै पनि विना सोधपुछ पक्राउ गर्नु प्रतिशोधपूर्ण छ’, जारी विज्ञप्तिमा भनिएको छ।

महासंघ महासचिव रोशन पुरीद्वारा जारी विज्ञप्तिमा सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि लागेका विभिन्न आरोपका सन्दर्भमा निरन्तर समाचार फलोअप गर्दै आएको कान्तिपुर दैनिक, त्यसको सम्पादकीय नेतृत्व तथा समग्र संचार क्षेत्रलाई लाञ्छित गर्नेगरी उपप्रधान तथा गृहमन्त्री लामिछानेले दिएका अभिव्यक्तिहरूले अध्यक्ष सिरोहियालाई पक्राउ गरिएको घटना प्रतिशोधपूर्ण रहेको पुष्टि गरेको महासंघको ठहर भएको उल्लेख छ।

कानुनअनुसार हुने अनुसन्धानमा जहिल्यै साथमा रहेपनि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई बन्देज गर्ने मनसायबाट हुने राज्यशक्तिको दुरुपयोग पत्रकार महासंघले नस्वीकार्ने महासचिव पुरीको भनाई छ।

यो घटनाबाट कुनै पनि प्रकारको प्रभावमा नपर्न तथा सत्य तथ्य समाचार प्रकाशन गर्ने कामबाट विचलित नभई अगाडि बढ्न कान्तिपुरको सम्पादकीय नेतृत्वसँग महासंघ साथमा रहेको बताएको छ।

‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गरी नेपालको संविधानले सुनिश्चित गरेको पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूतिलाई पालना गर्न महासंघ सरकारसँग जोडदार माग गर्दछ,’ महासंघले भनेको छ ।

प्रतिक्रिया

भर्खरै