‘शक्ति र सत्तामा रहेकाको मात्रै इतिहास लेखिनु हुँदैन’

‘शक्ति र सत्तामा रहेकाको मात्रै इतिहास लेखिनु हुँदैन’

FONIJ Program Photo

नेपाल आदिवासी जनजाति पत्रकार महासघं (फोनिज) का संघीय सल्लाहकार हुम तमुले इतिहास, दस्तावेज तथा सत्य–तथ्यको आधारमा इतिहास लेखिनुपर्ने बताएका छन्।

फोनिज गण्डकी तथा कास्की शाखाले पोखरामा आइतबार संयुक्त रुपमा आयोजना गरेको फोनिज संवाद कार्यक्रममा बोल्दै तमुले भने, ‘इतिहास शक्ति र सत्तामा रहेकाको मात्रै लेखिदैन।’

‘संस्थापक अध्यक्ष को हुन् ? भन्ने विषयमा बहस र संवादमार्फत् टुंगो लगाउनुपर्छ,’ नेपाल पत्रकार महासंघको ७३ औं स्थापना दिवस र सत्यनारायणबहादुर श्रेष्ठको योगदान सन्दर्भमा आयोजित फोनिज संवाद कार्यक्रममा तमुले अगाडि थपे,सत्य र इतिहास लुकाएर लुक्दैन। सत्यनारायण बहादुर श्रेष्ठको विषयमा कुरा उठिरहँदा अन्य अग्रज व्यक्तित्वको अपमान भने गर्नु भएन। तर, सत्य–तथ्यका आधारमा संस्थापक अध्यक्षको विषय टुंग्याउनुपर्छ।’

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिमिल्सिना पंगेनीले पत्रकार महासंघको महाधिवेशनले संस्थापकको विषय टुंगोमा लगाउने बताइन्।

यसका लागि फोनिजका सदस्यहरु चनाखो हुनुपर्नेमा उनले जोड दिइन्।

यसका लागि आफूले सहयोग गर्ने उनले प्रतिवद्धतासमेत जनाइन्।

उनले रहेक मिडिया हाउसमा जातीय समावेशिता हुनुपर्नेमा जोड दिइन्।

फोनिज गण्डकीका ईन्चार्ज एमबी आस्था मगरले सत्यनारायण बहादुर श्रेष्ठ नै पत्रकार महासंघको संस्थापक अध्यक्ष हुन् भन्ने प्रमाण फोनिजको संघीय तहमा प्रमाण सुरक्षित रहेको बताए।

सोही प्रमाणका आधारमा महासंघको केन्द्रीय तहले पनि आगामी वर्ष ७४ औं स्थापना दिवस मनाउने वातावरण तयार गर्नुपर्नेमा उनले जोड दिए।

कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गोविन्द सुवेदीले संस्थापक अध्यक्ष को हुन् भन्ने विषयमा भइरहेको विवादलाई सत्य र तथ्यको आधारमा छिटोभन्दा छिटो टुंगोमा लगाउनुपर्नेमा उनको जोड थियो।

उनले भने, ‘नेपाल पत्रकार महासंघको ७४ औं स्थापना दिवस विवारहित तरिकाले मनाउने गरी समस्याको समाधान गर्नुपर्छ।’

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष बिमला भण्डारीले अहिले पत्रकार खुलेर लेख्न तथा बोल्न सक्ने वातावरण हुनुमा सत्यनारायण बहादुर श्रेष्ठ तथा कृष्णप्रसाद भट्टराई दुवैको भूमिका उत्तिकै महत्वपूर्ण रहेको बताइन्।

नेपाल आदिवासी जनजाति पत्रकार महासंगले उठाइरहेको संस्थापक अध्यक्षको विषयमा केन्द्रीय तहबाटै पहल हुनुपर्ने उनको जोड थियो।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रुद्र श्रीसमगरको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल प्रेस चौतारी केन्द्रीय अनुशासन आयोगका उपाध्यक्ष श्याम कुँवर, नेपाल आदिवासी जनजाति महासंघ गण्डकी प्रदेश समन्वय समितिका मुख्य सचिव सुजन लामालगायतले संस्थापक अध्यक्षको विषयमा प्रमाणसहित सत्यतामा रहेर बहस र संवाद अघि बढाउनुपर्ने बताएका थिए।

कार्यक्रममा फोनिज कास्कीका अध्यक्ष दिलप्रसाद गुरुङले स्वागत गरेका थिए भने फोनिज गण्डकीका महासचिव धनबहादुर गुरुङ ‘सुमन’ कार्यक्रम सञ्चालनले गरेका थिए।

प्रतिक्रिया

भर्खरै

Copy - Advertisement


 

This will close in 10 seconds