आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्ड वैशाख २१ गते हुने तयारी

आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्ड वैशाख २१ गते हुने तयारी

nsjf, Gandaki

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्ड २०८० को मिति तय भएको छ।

मञ्चका अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा बुधबार पोखरा रंगशालाको मिडिया सेन्टरमा बसेको ३४ औँ बैठकले आगामी बैशाख २१ गते शुक्रबार स्पोर्ट्स अवार्ड कार्यक्रम गर्ने निर्णय गरेको मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिएका छन्।

स्पोर्ट्स अवार्ड कार्यक्रमलाई भव्य बनाउन तयारीमा तीव्रता समेत दिएको उनको भनाई छ।

स्पोर्ट्स अवार्ड कार्यक्रममार्फत वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिने मञ्चका अध्यक्ष दीननाथ बरालले जनाए।

उक्त कार्यक्रमलाई गण्डकी प्रदेश सरकारको बिशेष सहयोग हुने गरेको छ भने पोखरा महानगरको समन्वयमा हुने गरेको हो।

खेलाडी तथा खेल क्षेत्रमा क्रियाशीललाई उर्जा थप्न मञ्च गण्डकीले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोट्र्स अवार्ड गर्दै आएको छ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी, गण्डकी प्रदेशका संपूर्ण खेलकुद पत्रकारको साझा संस्था हो।

यो २०५७ सालमा खेलकुद पत्रकार मञ्च कास्कीका रुपमा स्थापना भएको थियो।

देश संघीयतामा गएसँगै यसलाई नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशका रुपमा स्तरोन्नति गर्दै स्वायत्त संस्थाको रुपमा विकास गरिएको छ।

हाल ७४ जना पत्रकार मञ्चमा आवद्ध छन्।

प्रतिक्रिया

भर्खरै

Copy - Advertisement


 

This will close in 10 seconds