म्याग्दी । कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम सडकखण्डको म्याग्दीस्थित भिरकाटे क्षेत्रमा सडकमाथिको भीरबाट सुख्खा पहिरो खस्न थालेपछि यात्रा जोखिमपूर्ण बनेको छ। अन्नपूर्ण गाउँपालिका–६ घारको भिरकाटे–टिम्मुरे खण्डमा सडकमाथिको अग्लो भीरबाट निरन्तर सुख्खा पहिरो झर्न थालेपछि सवारीसाधन सावधानीपूर्वक सञ्चालन गर्न गाउँपालिकाले अनुरोध गरेको छ।

गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले भीरबाट निरन्तर पहिरो खसिरहेकाले यात्रा गर्दा विशेष सतर्कता अपनाउन आग्रह गर्नुभएको छ। स्थानीयवासी अमृत पुनले सामाजिक सञ्जालमा सार्वजनिक गरेको भिडियोबाट सम्भावित ठुलो पहिरोको जोखिम देखिएको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, “बेनी–जोमसोम सडकखण्डमा नयाँ पहिरो देखिएको छ। अग्लो भीरबाट निरन्तर पहिरो झरिरहेको छ, जसले सडकलाई थप जोखिमपूर्ण बनाएको छ। त्यसैले सावधानी अपनाएर मात्र आवतजावत गर्न अनुरोध गरेका छौँ।”
स्थानीयवासीका अनुसार घारको जुकेपानी हुँदै झर्ने टिम्मुरे झरनानजिकको अग्लो पहाडको बिचभागबाट निरन्तर पहिरो खस्न थालेपछि बेनी–जोमसोम सडक र कालीगण्डकी नदी दुवै उच्च जोखिममा परेका छन्। स्थानीयवासी गुरुप्रसाद खत्रीका अनुसार अहिले पहिरो खसिरहेको भीरको माथिल्लो भागमा रहेको खोप क्षेत्रको तल्लो डिल धेरै वर्षअघिदेखि चार–पाँच हातसम्म चिरिएको थियो। उहाँले भन्नुभयो, “खोपको तल्लो डिल र टिम्मुरे झरनाको माथिल्लो भागमा भीर धजाधजा परेको छ। करिब एक महिनाअघि त्यहाँ पुगेको थिएँ, त्यतिबेला थप पहिरोको संकेत थिएन। अहिले वर्षासँगै पहिरो झर्न थालेको छ।” बेनी–जोमसोम सडकखण्डमा यसअघि नै नौ वटा ठूला पहिरो सक्रिय रहेकाले वर्षायाममा यात्रा थप जोखिमपूर्ण बनेको छ। जिल्ला प्रशासन कार्यालय म्याग्दीले पनि वर्षायाममा सकेसम्म रातिको यात्रा नगर्न अनुरोध गरेको छ।
कालीगण्डकी नदी किनारैकिनार निर्माण गरिएको बेनी–जोमसोम सडकको गलेश्वरदेखि घाँसासम्मको करिब ३० किलोमिटर सडकखण्डमा कम्तीमा नौ वटा ठूला तथा जोखिमयुक्त पहिरो पहिचान गरी संरक्षणको काम सुरु गरिए पनि जोखिम पूर्ण रूपमा हट्न नसकेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख तेजस्वी शर्माले जानकारी दिनुभयो। गत वर्ष आयोजनाले भूगर्भविद्सहित विभिन्न क्षेत्रका २० जना विज्ञ परिचालन गरी बेनी–घाँसासम्मका पहिरोको भूगर्भीय अध्ययन गरेको थियो। अध्ययनले बैसरी, सिरुवारी, गुईठे र खामभित्तासहित नौ वटा पहिरोलाई अति जोखिमयुक्त पहिरोका रूपमा पहिचान गरेको थियो।
अध्ययन टोलीले होरिजेन्टल ड्रेन, रिटेनिङ वाल, ब्रेस्ट वाल, क्यास्केडिङ वाल, रक एङ्करिङ, सोइल नेलिङ तथा बायोइन्जिनियरिङलगायत प्रविधि प्रयोग गरी पहिरो नियन्त्रण गर्न सुझाव दिएको थियो। सोही सुझावअनुसार पहिरो नियन्त्रणका काम सुरु गरिएको आयोजना प्रमुख शर्माले बताउनुभयो। उहाँका अनुसार गत वर्ष बैसरी पहिरोमा रक एङ्करिङ र बायोइन्जिनियरिङ प्रविधिमार्फत पहिरो नियन्त्रणको काम सम्पन्न गरिएको थियो।