पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २८ ओख्लेको भीरमा शुक्रबार बिहान स्कुल बस दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ । घटनामा १४ जना घाइते भएका छन् । मृत्यु हुनेमा ३ बालिका एक बालक र एक पुरुष रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी नवीन कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार शुक्रबार बिहान कालिका बोर्डिङ स्कुलको ग २ क १४१७ नम्बरको बस माझठानाबाट कालिकातर्फ आउँदै गर्दा ओख्लेको भीरमा दुर्घटनामा परेको हो । दुर्घटनामा पोखरा २८ का १५ वर्षीया ममता तिवारी, १४ वर्षीया सुवेच्छा तिवारी, १४ वर्षीया रुमिका नेपाली, १३ वर्षीय असिम कँडेल र ६५ वर्षीय बाबुराम तिवारीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । ६५ वर्षीय तिवारी उपचारको लागि पोखरा आउन स्कुल बसमा चढ्नु भएको थियो । बिहान ट्यूसन पढ्नका लागि विद्यार्थीलाई लिएर बस बोर्डिङ स्कुलतर्फ आउँदै गरेको अवस्थामा दुर्घटनामा परेको हो ।
घटनामा घाइते भएका १४ मध्ये ११ जनाको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र ३ जनाको जिएमसी अस्पतालमा उपचार भइरहेको कास्कीका प्रहरी प्रवक्ता डिएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिनुभयो । घाइते मध्ये १६ वर्षीया अस्मी कँडेलको आइसियूमा उपचार भइरहेको छ भने अन्यको अवस्था खतरामुक्त रहेको अस्पतालले जानकारी दिएको छ । घाइते हुनेमा पोखरा १५ का बस चालक ५७ वर्षीय तुलबहादुर गुरुङ, पोखरा २८ की १६ वर्षीया सृष्टि तिवारी, १६ वर्षीय सिसन थापा, १६ वर्षीय सौगात तिमिल्सेना, १५ वर्षीया अस्मी कँडेल, १३ वर्षीया सोनिया तिवारी, १३ वर्षीय अंकित पराजुली, १६ वर्षीया स्नेहा तिवारी, १४ वर्षीय आकृति बुढाथोकी, १५ वर्षीया मेरिना तिवारी, १४ वर्षीया सुप्रिया आचार्य, वर्ष १६ को यमन मगर छन् भने मादी गाउँपालिका वडा नम्बर १२ बस्ने १४ वर्षीया स्नेहा खत्री र १५ वर्षीया स्मृति खत्री भएको प्रहरीले बताएको छ ।
एकै ठाउँका ५ जनाको ज्यान गएपछि पोखरा २८ माझठाना गाउँ शोकमा डुबेको छ । दुर्घटना भएपछि स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाले घाइतेको उद्धार गरी अस्पताल पठाएका थिए । दुर्घटना कसरी भयो भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
यसैबीच पोखरा महानगरपालिकाले बस दुर्घटनाको बारेमा सत्यतथ्य पत्ता लगाउन ५ सदस्यीय छानबिन समिति गठन गरेको छ । समितिको संयोजकमा वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदी रहनुभएको छ भने समितिका सदस्यहरुमा मेकानिकल इन्जिनियर सरोज चालिसे, महानगर शिक्षा समिति सदस्य डोलराज पाण्डे, नगर प्रहरी निरीक्षक पुरुषोत्तम थापा र ट्राफिक सहायक निरीक्षक अमृत भट्टराई रहनुभएको पोखरा महानगरप्रमुख धनराज आचार्यले जानकारी दिनुभयो । गठित समितिले दुर्घटनाको कारण र घटनासँग सम्बन्धित विषयहरुको अध्ययन गरी ५ दिनभित्र प्रतिवेदन पेस गर्ने उहाँको भनाइ छ ।