पोखरा। पोखराको पदम नर्सिङ होमलाई १०० शय्याको अनुमति दिने क्रममा घुस डिल गरेको आरोप लागेका गण्डकी प्रदेश सरकारका पूर्वस्वास्थ्यमन्त्री लक्ष्मणबहादुर पाण्डे र उनका स्वकीय सचिव यादव पौडेललाई कारबाहीका लागि सिफारिस गरिएको छ।

नेकपा एमाले गण्डकी प्रदेश सभा संसदीय दलले गठन गरेको छानबिन समितिले आफ्नो अध्ययन प्रतिवेदन तयार पारी संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री खगराज अधिकारीलाई बुझाउँदै कारबाहीको सिफारिस गरेको हो। पूर्वमन्त्री पाण्डे र उनका स्वकीय सचिव पौडेल एमाले पार्टी विधानको धारा ८४ को ‘छ’ र ‘ञ’ विपरीतका क्रियाकलापमा संलग्न रहेको निष्कर्ष समितिले निकालेको छ। पार्टी विधान उल्लंघन गरेकाले उनीहरूलाई अनुशासनको कारबाहीका लागि सिफारिस गरिएको प्रतिवेदनमा उल्लेख छ।
यस्तै पूर्वमन्त्री एवं प्रदेशसभा सदस्य पाण्डेलाई प्रदेशसभा संसदीय दलको विधान २०८० को धारा २७ अनुसार थप कारबाही गर्न भनिएको छ। गण्डकी प्रदेशमा नेपाली कांग्रेससँग संयुक्त सरकार गठन गर्दा मन्त्री नियुक्त हुनुअघि र शपथ लिनुअघि एमालेका तर्फका मन्त्रीहरूले हस्ताक्षर गरेको आचारसंहिता अनुसार पनि पाण्डेमाथि थप कारबाहीको सिफारिस गरिएको छ।
अस्पतालको खाताबाट स्वकीय सचिव पौडेलको नाममा ३० लाख रुपैयाँको चेक काटिएको विवरण बाहिर आए पनि पूर्वमन्त्री पाण्डेले आफूले रकम नलिएको दाबी गर्दै आएका छन्। यसैबीच प्रदेश सरकारले मन्त्रालयका सचिव डा. युवानिधि बसौलाको जिम्मेवारी खोसेर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा काजमा खटाएको छ भने घटनाको छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत पत्राचार गरिएको छ।