पोखरा । पाेखरासहित देशको विभिन्न क्षेत्रमा बुधबार हावाहुरीसँगै मेघगर्जन, चट्याङ र वर्षा भइरहेको छ । मौसमविद्का अनुसार मनसुन बाहिरिने क्रमसँगै पश्चिमी वायुको प्रभावसमेत रहेकाले आगामी तीन दिनसम्म मौसम स्थिर नहुने जानकारी दिनुभयो ।

जल तथा मौसम विज्ञान विभागका मौसमविद् रोजन लामिछानेका अनुसार आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भूभागका साथै बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
देशको विभिन्न पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षाको सम्भावना छ । पछिल्लो केही घण्टामा चितवन, पाल्पा र कैलाली आसपासका क्षेत्रमा भारी वर्षा भएको मौसमविद् लामिछानेले जानकारी दिनुभयो । नवलपुर, तनहुँ, गोरखा, अर्घाखाँची र रूपन्देहीलगायत क्षेत्रमा समेत मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको उहाँले बताउनुभयो ।
काठमाडौंमा हावाको गति बढिरहेको छ । मौसमविद् लामिछानेका अनुसार बिहान बढी गतिमा रहेको हावा अहिले काठमाडौंको पश्चिमी क्षेत्रमा पनि तीव्र रुपले हावा चलेको छ । चितवन–हेटौँडा–मकवानपुर आसपास विकसित भएका बादल काठमाडौं उपत्यकातर्फ सर्दै आएकाले हावाहुरीसँगै वर्षाको सम्भावना बढेको उहाँले बताउनुभयो ।
मौसमविद् लामिछानेका अनुसार आजको तुलनामा बिहीबार केही सुधार देखिए पनि पहाडी र तराईका विभिन्न स्थानमा वर्षाको सम्भावना कायमै रहनेछ । शुक्रबारसम्म विभिन्न स्थानमा बदलीसँगै मेघगर्जन, चट्याङ र वर्षाको गतिविधि दोहोरिन सक्ने उहाँको भनाइ छ । उहाँका अनुसार वर्षा लामो समय निरन्तर भइरहनेभन्दा छोटो समयमा तीव्र हुने र केही समयपछि रोकिने प्रकृतिको हुनेछ । शनिबारदेखि भने मौसममा क्रमिक सुधार हुने अनुमान गरिएको छ ।
मनसुन बाहिरिने क्रममा रहेको र पश्चिमी वायुको प्रभावसमेत देखिएकाले देशभर एकै प्रकारको मौसम नदेखिएको मौसमविद् लामिछानेले बताउनुभयो । यही कारण एक स्थानमा घाम लागिरहेका बेला अर्को स्थानमा मेघगर्जनसहित वर्षा हुने अवस्था देखिएको उहाँको भनाइ छ ।