ललितपुर। वैदेशिक रोजगार विभाग, ईपीएस कोरिया शाखाले सन् २०२६ को प्वाइन्ट बेस्ड सेलेक्सन सिस्टमअन्तर्गत पहिलो चरणको कोरियन भाषा परीक्षाका लागि आवेदन खुला गरेको छ। युवा, श्रम तथा रोजगार मन्त्रालयको साउन ४ गतेको निर्णयअनुसार गणतन्त्र कोरियामा रोजगारका लागि योग्य नेपाली कामदार छनोट गर्ने उद्देश्यले आवेदन आह्वान गरिएको शाखाले जनाएको छ।

शाखाले कोरियन भाषा परीक्षा उत्तीर्ण गरेकै आधारमा कोरियामा रोजगारी सुनिश्चित नहुने स्पष्ट गरेको छ। भाषा परीक्षा केवल पहिलो चरणको छनोट प्रक्रिया भएको र अन्तिम छनोट सम्बन्धित प्रक्रिया पूरा गरेपछि मात्र हुने जनाइएको छ। सूचनाअनुसार आवेदन सङ्कलन प्रक्रिया पूरा भई आवेदक सङ्ख्या निर्धारण भएपछि परीक्षाको मिति र तालिका कार्यालयको वेबसाइटमार्फत सार्वजनिक गरिनेछ। आवश्यकता अनुसार एक दिनमा पाँच सिफ्टसम्म परीक्षा सञ्चालन गर्न सकिने तथा आवेदक सङ्ख्या वा अन्य कारणले परीक्षा तालिकामा फेरबदल हुन सक्ने पनि उल्लेख गरिएको छ।
ईपीएस कोरिया शाखाका अनुसार यस चरणमा प्वाइन्ट बेस्ड सेलेक्सन सिस्टमअन्तर्गत करिब सात हजार दुई जना भाषा परीक्षामा उत्तीर्ण हुने अनुमान गरिएको छ। पहिलो चरणको उत्तीर्ण सङ्ख्या एचआरडी कोरिया र ईपीएस सेन्टर ले निर्धारण गरेको कटअफका आधारमा तय गरिनेछ। शाखाले कोरियामा कामदारको मागअनुसार आवश्यक परे उत्तीर्ण हुने सङ्ख्या थप हुन सक्ने जनाएको छ। साथै, आवेदन तथा परीक्षासम्बन्धी विस्तृत कार्यविधि र सूचना ईपीएस कोरिया शाखाको आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरिने जानकारी दिएको छ।

This will close in 10 seconds