काठमाडाैं । अन्तरिम सरकारको नेतृत्व सम्हालेकी प्रधानमन्त्री सुशीला कार्कीले पदबहालीपछि पहिलो निर्णयकै रूपमा संसद् विघटनको सिफारिस गरेकी छिन् । उनको सिफारिसलाई राष्ट्रपति रामचन्द्र पौडेलले आजै स्वीकृत गरेका छन् ।
प्रधानमन्त्री कार्कीले प्रतिनिधि सभा निर्वाचन आगामी फागुन २१ गते गर्ने गरी मिति तोकेको घोषणा गरेकी छिन् । राष्ट्रपतिका कानूनी सल्लाहकार बाबुराम कुँवरका अनुसार संसद् विघटनसम्बन्धी प्रधानमन्त्रीको प्रस्ताव स्वीकृत भइसकेको छ ।
भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि राजनीतिक परिदृश्य असहज बन्दै गएका बेला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरिएको हो । शुक्रबार राति उनले शपथ ग्रहण गर्दै मुलुककी ४२ औँ प्रधानमन्त्रीको रूपमा कार्यभार सम्हालेकी थिइन् ।
राष्ट्रपति पौडेलले संविधानको धारा ६१ को उपधारा ३ र ४ अन्तर्गत निहित अधिकार प्रयोग गरी कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए ।