महिलातर्फ पुलिसले चौँथो जित निकाल्दा आर्मी र कर्णाली बाहिरियो

पिएम एनभिए कम भलिबल

महिलातर्फ पुलिसले चौँथो जित निकाल्दा आर्मी र कर्णाली बाहिरियो

pm volley ball 12 photo

पोखरा । नवौं प्रधानमन्त्री कप एनभिए लिगको महिलातर्फ साविक विजेता नेपाल पुलिस क्लबले लगातार चौंथो जित निकाल्दा प्रतियोगिताबाट त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेश बाहिरिएका छन् । सोमबार भएको प्रतिस्पर्धामा पुलिसले त्रिभुवन आर्मी क्लबलाई ३–२ ले पाखा लगाएर फाइनलमा पुग्ने सम्भावनालाई बलियो बनाएको हो ।

पोखरा रंगशालास्थित कभर्ड हलमा भएको खेलमा पुलिसले आर्मीलाई २४–२६, २५–११, २५–१९, २१–२५ र १५–९ ले पराजित गरेको हो । पुलिस ११ अंकसहित शीर्षस्थानमा रहँदा ५ सेटमा पुगेको खेलबाट आर्मी क्लबले १ अंक मात्र जोडेको छ भने लिग चरणबाट बाहिरिएको छ । महिलातर्फ सहभागी ६ टोलीमा आर्मी र कर्णाली प्रदेश लिग चरणबाट बाहिरिएका हुन् ।

यसअघि सोमबार नै भएको महिलातर्फ खेलमा एभरेस्ट भलिबल क्लबले दोस्रो जित हासिल गरेको छ । पोखरा रंगशालास्थित कभर्ड हलमा जारी प्रतियोगितामा एभरेस्टले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा हरायो। एभरेस्टले कर्णालीलाई २५–१४, २५–७,२५–२० ले पराजित गरेको हो । महिला लिगमा पुलिस, टिप टप न्यु डायमन्ड स्पोर्टस्, नेपाल एपिएफ क्लब र एभरेस्ट शीर्ष ४ मा रहेका छन् ।

यसैबिच सोमबार भएको पुरुषतर्फको खेलमा घरेलु टोली गण्डकी प्रदेशले पाँचौं जित निकालेको छ । लगातारको जितमा गण्डकीले फाइनल पुग्ने सम्भावनालाई बलियो बनाएको छ । पुरुषतर्फको पहिलो खेलमा गण्डकीले सुदूरपश्चिम प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । गण्डकीले २५–१३, २५–२० र २५–२० को सहज जितमा गण्डकीले ३ अंक जोड्यो। पुरुषतर्फको अर्को खेलमा त्रिभुवन आर्मी क्लबले कोशी प्रदेशलाई ३–१ ले हराएर तेस्रो जित निकालेको छ । खेलमा पहिलो सेट २१–२५ ले गुमाएको आर्मीले खेलमा कमब्याक गर्दै २५–१९,२५–२१ र २५–२० ले लगातार तीन सेट जित्यो ।

नेपाल भलिबल सङ्घको आयोजनामा भएको खेल जेठ १५ गते सम्म सञ्चालन हुनेछ । प्रतियोगितामा पुरुष र महिला दुवै विधामा विजेताले आठ लाख, दोस्रोले चार लाख र तेस्रोले दुई लाख रुपियाँ पुरस्कार प्राप्त गर्ने छ । यस्तै उत्कृष्ट लिब्रो, सरभर,ब्लकर, लिफ्टर, स्पाइकर र टिम प्रशिक्षकलाई जनही २५÷२५ हजार रुपियाँ प्रदान गरिने आयोजक नेपाल भलिबल सङ्घले जनाएको छ ।

प्रतिक्रिया