पोखरा । धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँचै जना रसियन पर्वतारोहीको शव हेलिकप्टर मार्फत् काठमाडौं लगिएको छ । ७ हजार १ सय मिटर उचाइमा मृतावस्थामा उनीहरको शव भेटिएको थियो ।
रसियन पर्वतारोहीको शव हेलिकप्टरमार्फत काठमाडैं पठाएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जानकारी दिएको छ । एयर अल्टिच्युडको हेलिकप्टरबाट हिमालमा पुगेका सेभेन समित ट्रेकका सञ्चालक मिङ्मा शेर्पासहितको टोलीले शव उठाएर इटली आधार शिविर झारेका थिए ।
इटली आधार शिविरबाट शवलाई काठमाडौँस्थित त्रिविवि शिक्षण अस्पतालमा पठाइएको प्रहरीको भनाइ छ । आधार शिविरको हाइक्यापमा बास बसेर धौलागिरि आरोहणका लागि गएका उनीहरु असोज २१ बिहान ११ बजेदेखि सम्पर्कविहीन भएका थिए । प्रहरीका अनुसार रसियाका अलेक्जेन्डर दुशेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइको शव २२ गते दिउँसो भेटिएको थियो । हेलिकप्टर अवतरण गर्न र मानिस हिँडेर पुग्न नसकिने ठाउँमा रहेको शव मौसमको खराबी र प्रतिकूल भूगोलका कारण संकलन गर्न ढिलाइ भएको हो । १४ आराेही मध्ये २ जनाले सफल आराेहण र ७ जना बीच बाटाेबाट फर्किएका थिए भने ५ जना मृत भेटिएका हुन् ।