पोखरा । आश्विन शुक्लपक्ष चतुर्दशी र पूर्णिमा पनि आजै परेकाले मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रुपमा यस वर्षको बडादसैँको टीका र जमरा लगाउने अन्तिम दिन भएको छ ।
सूर्योदय कालमा चतुर्दशी र मध्यरातमा पूर्णिमा तिथि परेकाले कोजाग्रत पूर्णिमा आजै परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । साँझमा पूर्णिमा तिथि पर्दा गरिने पूर्णिमा व्रत भने कात्तिक १ गते बिहीबार परेको समितिका सदस्य एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्रा डा देवमणि भट्टराईले राससलाई जानकारी दिए ।
मान्यजन टाढा टाढा हुने आफन्त विजयादशमीदेखि आश्विन शुक्ल पूर्णिमासम्म आशीर्वाद थाप्न घर घरमा जाने गर्छन् । आफन्त टाढा हुनेका लागि बडादसैँ नवदुर्गाको प्रसाद र आशीर्वाद लिनुका साथै भेटघाट गर्ने अवसर पनि हो ।
यस वर्ष आज अखिल बलिपूर्ति र कोजाग्रत पूर्णिमा तथा कात्तिक १ गते बिहीबार पूर्णिमा व्रत परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएको पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ । कोजाग्रत पूर्णिमाका दिन राति जाग्राम बसी महालक्ष्मीको पूजा आराधना गरिन्छ । कात्तिक १ गतेदेखि नेपालीको महान् चाड बडादसैं समापन हुन्छ ।