पोखरा असोज ६ । संयुक्त राष्ट्रसंघको मुख्यालयमा जारी महासभाको ७९ औं अधिवेशनमा भाग लिन संयुक्त राज्य अमेरिकाको न्युयोर्क भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज राति भेटवार्ता हुने भएको छ ।
उनीहरुबीच आइतबार अमेरिकी समय अनुसार साढे ५ बजे (नेपाली समय सोमबार बिहान सवा तीन बजे) भेटवार्ता हुने परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ । दुई प्रधानमन्त्रीको भेटमा नेपाल–भारतबीचको सम्बन्धलाई मजबुत बनाउन र दुई देशका सरकारबीच आपसी सहकार्यका विषयमा पनि छलफल हुने बताइएको छ ।
गत भदौ ३० गते परराष्ट्र मन्त्री डा. आरजु राणा र भारतका विदेशमन्त्री एस. जयशंकर टेलिफोन वार्ता भएको थियो। त्यही संवादबाट प्रधानमन्त्री ओली र समकक्षी मोदीको न्युयोर्कमा भेट गर्ने समय निश्चित भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।
प्रधानमन्त्री ओलीले मोदीसँगको भेटपश्चात अन्य देशका राष्ट्र प्रमुख र सरकार प्रमुखहरुसँग पनि साइडलाइन भेटवार्ता गर्ने तय भएको छ । बिहीबार प्रधानमन्त्री ओलीले कतार, पाकिस्तान र लाओसका प्रधानमन्त्रीबीच पनि छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता हुनेछ ।
मंगलबार बिहान प्रधानमन्त्री ओली महासभाको छलफलमा सहभागी हुने कार्यतालिका छ । गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएपछि ओलीको यो पहिलो विदेश भ्रमण हो। संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन प्रधानमन्त्री ओली शुक्रबार कतार हुँदै अमेरिका प्रस्थान गरेका थिए ।