भोटेकोशी बाढीको क्षतिप्रति कस्केली समाज अमेरिकाद्वारा दुःख व्यक्त,

भोटेकोशी बाढीको क्षतिप्रति कस्केली समाज अमेरिकाद्वारा दुःख व्यक्त,

उद्धार तथा राहतमा सहयोग गर्न अपील

6bc6a187-6c41-4acb-85a3-423d91f09987

अमेरिका । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति कस्केली समाज अमेरिकाले दुःख व्यक्त गर्दै प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य प्रभावकारी बनाउन सरकारलाई आग्रह गरेको छ।

कस्केली समाज अमेरिकाका अध्यक्ष डम्बरजंग गुरुङले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति हुनुका साथै नागरिकको जनजीवन प्रभावित भएकोप्रति दुःख व्यक्त गर्नुभएको हो।

समाजले प्राकृतिक विपत्तिका कारण देशमा उत्पन्न गम्भीर राष्ट्रिय संकटको घडीमा देश तथा विदेशमा रहेका नेपालीहरूबीच एकजुट भई विपद्को सामना गर्नुपर्नेमा जोड दिएको छ। समाजले प्रभावित क्षेत्रमा सरकार तथा राष्ट्रिय संकट व्यवस्थापन संयन्त्रमार्फत उद्धार तथा राहतका काम भइरहेको भए पनि क्षतिको यथार्थ विवरण अझै आउन बाँकी रहेको जनाएको छ।

बाढी प्रभावित नागरिकको तत्काल उद्धार, घाइतेको उपचार तथा बेपत्ता नागरिकको खोजी कार्यलाई प्राथमिकताका साथ अघि बढाउन समाजले आग्रह गरेको छ। साथै, बाढीबाट प्रभावित नागरिकको शारीरिक स्वास्थ्य लाभको कामना गर्दै खोजी, घाइतेको उपचार तथा राहत वितरणमा सरकारी संयन्त्रलाई सबैले सहयोग, सहकार्य र समन्वय गर्न अपिल गरेको छ।

समाजले विपद्को समयमा सरकारी निकायबाट जारी हुने सूचना तथा समाचारलाई संयमित र सचेत रूपमा ग्रहण गर्न तथा अपुष्ट सूचना फैलिन नदिनसमेत आग्रह गरेको छ। भोटेकोशी बाढीबाट भएको क्षतिप्रति राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा समेत चिन्ता व्यक्त भइरहेको छ। पछिल्लो बाढीका कारण नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ भने उद्धार तथा राहत कार्यलाई तीव्र बनाइएको छ।

कस्केली समाज अमेरिकाले बाढीमा परी ज्यान गुमाएका सम्पूर्ण नेपालीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ।

प्रतिक्रिया

भर्खरै