पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले जेठ महिनामा मात्रै विभिन्न विधाका २०६ वटा मुद्दा दर्ता गरी कारवाही अगाडि बढाएको छ । जिल्लाको शान्ति सुरक्षा र अपराध नियन्त्रणका क्रममा प्रहरीले ठुलो परिमाणमा लागुऔषधसहित ६५ जना फरार प्रतिवादी र ५ जना विदेशी नागरिकलाई समेत नियन्त्रणमा लिएको छ ।


प्रहरीले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार जेठ महिनामा सबैभन्दा धेरै ६६ वटा बैंकिङ कसुरका मुद्दा दर्ता भएका छन् । अभद्र व्यवहारका ४०, ठगी तथा आपराधिक विश्वासघातका २० र लागुऔषधका १४ वटा मुद्दा दर्ता भएको सूचना अधिकारी वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।
प्रहरीले यस अवधिमा लागुऔषध कारोबारमा संलग्न ठुलो गिरोहलाई पक्राउ गर्न सफल भएको छ । रौतहट घर भई पोखरा-२९ तालचोक बस्ने २२ वर्षकी रुबिना खातुनलाई ३१ ग्राम भन्दा बढी खैरो हिरोइन र ११ लाख ४८ हजार रुपैयाँ नगदसहित पक्राउ गरिएको छ ।
