कास्कीमा १ हजार थान एलएसडीसहित विभिन्न लागू औषध बरामद

कास्कीमा १ हजार थान एलएसडीसहित विभिन्न लागू औषध बरामद

२० जना पक्राउ, ट्रामाडोलदेखि ब्राउन सुगरसम्म ठूलो परिमाणमा बरामद

LSD

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले जेठ महिनाभर सञ्चालन गरेको लागूऔषध नियन्त्रण अभियानअन्तर्गत १४ वटा लागूऔषध मुद्दा दर्ता गरी २० जनालाई पक्राउ गरेको जनाएको छ। पक्राउ परेकामध्ये १८ जना पुरुष र २ जना महिला रहेका छन्।

प्रहरीका अनुसार जेठ महिनामा ८ किलो ४५० ग्राम गाँजा, ६८ एम्पुल डाइजापाम, ९३ एम्पुल फेनरागन, ८० एम्पुल बुप्रेनोर्फिन, ३० चक्की नाइट्रोभेट, ३९ हजार ८९९ ट्याब्लेट ट्रामाडोल/टापेन्टाडोल, ८ एम्पुल आईपीपीएल, १ हजार थान एलएसडी, ८ चक्की नाइट्रोजेपाम तथा ५ ग्राम ७५ मिलिग्राम ब्राउन सुगर बरामद गरिएको सूचना अधिकारी एवं डिएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।

प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार पोखरामा एलएसडीसहित  भारतीय नागरिक  २८ वर्षीय आयुस अजितलाई पक्राउ गरेको हो। ३८ हजार ३४० चक्की टापेन्टाडोलसहित एक व्यक्ति, ब्राउन सुगरसहित एक महिला तथा गाँजासहित विभिन्न व्यक्तिहरू पक्राउ परेका छन्। जेठ महिनामा दर्ता भएका २ सय ६ वटा मुद्दामध्ये लागूऔषध सम्बन्धी मुद्दा १४ वटा रहेको प्रहरीले जनाएको छ।  प्रहरीले लागूऔषध कारोबार तथा ओसारपसार नियन्त्रणलाई आगामी दिनमा थप प्रभावकारी बनाइने जनाएको छ।

के हो एलएसडी ?

LSD (Lysergic acid diethylamide) अत्यन्त शक्तिशाली मनोप्रभावी (psychedelic) लागूऔषध हो। यसको सानो मात्राले पनि चेतना, अनुभूति, सोच र व्यवहारमा गहिरो असर पार्न सक्छ। नेपालमा लागूऔषध नियन्त्रणसम्बन्धी कानुन अन्तर्गत यसको उत्पादन, बिक्री, ओसारपसार र सेवन दण्डनीय अपराध मानिन्छ। कास्कीका प्रहरी प्रमुख एसपी नवीन कार्कीले लागू औषध प्रयोग कर्ताले बताए अनुसार  फेला परेको एलएसडी २५ लाख मूल्य बराबरको भएको जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय कास्कीले घटनामा थप अनुसन्धान भइरहेको जनाएको छ। पक्राउ परेका व्यक्तिविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। कार्कीका अनुसार एलएसडी यति ठूलो मात्रामा पोखरामा बरामद भएको पहिलो घटना हो ।

प्रहरीका अनुसार विदेशबाट आएको पार्सल शंकास्पद देखिएपछि हुलाक कार्यालयका कर्मचारी, स्थानीय जनप्रतिनिधि र स्थानीय व्यक्तिको रोहबरमा पार्सल खोली जाँच गर्दा एलएसडी जस्तो देखिने स्टिकर फेला परेको थियो। पार्सलमा पोखरा–६ लेकसाइडस्थित होटलको ठेगाना लेखिएको भए पनि सम्बन्धित होटलले उक्त पार्सल आफ्नो नभएको जनाएको थियो। त्यसपछि प्रहरीले निगरानी बढाएर शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको हो।

प्रतिक्रिया