पोखराको लेकसाइडमा २० औं फेवा नव वर्ष महोत्सव सुरु

पोखराको लेकसाइडमा २० औं फेवा नव वर्ष महोत्सव सुरु

20250412_123708
पोखरा । पोखराको लेकसाइडमा २० औं फेवा नव वर्ष महोत्सव २०८२ सुरु भएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शनिबार अम्बोटमा आयोजित सभामा महोत्सवको उद्घाटन गरे । होटल संघ पोखरा नेपालले आयोजना गरेको महोत्सव वैशाख १ गते सम्म चल्ने छ । यसअघि खहरे र ड्यामसाइडबाट निकालिएका आमा समूहसहितका विशाल झाँकीसहितका र्याली सभास्थलमा पुगेका थिए । निःशुल्क प्रवेशको व्यवस्था गरिएको महोत्सव तिनै दुई स्थल विचको सडकमा संचालन हुने छ । पंचैवाजा, भजन र रत्यौली जस्ता नेपाली मौलिक बाजा र नाच महोत्सवका आकर्षण हुन् । महोत्सवमा यसपटक भक्तपुरको विस्केट जात्रा विशेष आकर्षणको रुपमा रहेको छ ।
पर्यटन, संस्कृति र खाना फेवा महोत्सवका मुख्य आकर्षण रहेका छन् । महोत्सवका अवसरमा संघ अन्तर्गतका सदस्य होटलले आफ्नो प्रकाशित दररेटमा २० प्रतिशत छुट प्रदान गर्दै छन् । अहिले पोखराका ८० प्रतिशत होटलको अकुपेन्सी ८० प्रतिशत नै पुगेको आयोजक संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले जानकारी दिए । महोत्सवले पोखराको आर्थिक क्षेत्र चलायमान बनाउन मद्दत पुग्ने उनले बताए । आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने र नेपाली मौलिक संस्कृतिको संरक्षण गर्ने उद्देश्य महोत्सवले लिएको उनले सुनाए ।
प्रमुख अतिथि एवं महानगर प्रमुख आचार्यले पोखरा नेचर, कल्चर एड्भेञ्चर तिनै हिसावले उत्कृष्ट रहेको बताउँदै यस्तो विशिष्टतालाई अनुभव गर्न सकिने बनाउने दायित्व पर्यटन व्यवसायीको भएको बताए । पोखराको यातायात क्षेत्रलाई आधुनिक र प्रविधिमैत्री बनाउने कार्य अगाडि बढिसकेको उनले जानकारी दिए । पोखरालाई पर्यटनको राजधानी घोषणा गरेपछि पर्यटनमा यसको प्रभाव सकारात्मक परेको बताउँदै उनले पोखराको नयाँ विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान थपिंदै जाने विश्वास व्यक्त गरे । पोखरामा जलन अस्पताल निर्माणका लागि कोरियाली सहयोगमा प्रारम्भिक काम अगाडि बढेको जानकारी पनि उनले दिए ।
होटल संघ नेपालका अध्यक्ष विनायक शाहले पर्यटनबाट मात्र आर्थिक समृद्धि संभव रहेको बताए । उनले पोखरामा पर्यटन सम्वन्धि लगानी र ब्राण्डहरु थपिंदै गएको र यो सुखद पक्ष भएको सुनाए । होटल संघ नेपालका केन्द्रिय सदस्य एवं आयोजक संघको सल्लाहकार परिषद्का संयोजक भरतराज पराजुलीले फेवा तालको माथिल्लो भागमा माटो निकाली सानो ताल बनाएर त्यहाँ जलगतिविधि संचालन गर्न सकिने सुझाव राखे । कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की, कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे र महिला संजाल वडा ६ कि अध्यक्ष बबिता मल्लले पनि भनाई राखेका थिए । एसके डान्स ट्रेनिङका कलाकारले सो अवसरमा नाच देखाएका थिए ।

प्रदेशस्तरीय मौलिक तथा रैथाने परम्परागत खानाको प्रदर्शन, सांस्कृतिक कार्यक्रमहरुको प्रस्तुती, मनोरञ्जनात्मक खेलकुद कार्यक्रम र पर्यटक दौड प्रतियोगिता महोत्सवका आकर्षण रहेका छन् । संस्थागत व्याडमिन्टन कप प्रतियोगिता यसपटकको नयाँ आकर्षणको रुपमा रहेको छ । यसलाई वाराही हस्पिटालिटी ग्रुपले प्रायोजन गरेको छ । यसैगरी स्थानीय एवम् प्रख्यात कलाकारद्वारा प्रत्यक्ष पप कन्सर्ट, कृषि एवम् हस्तकलाका सामानहरुको प्रदर्शनी तथा स्थानीय तथा प्रख्यात कलाकारद्वारा लोक दोहोरी कार्यक्रम पनि महोत्सवमा प्रस्तुत हुने छन् । फेवा महोत्सवको मुख्य प्रायोजकमा गोर्खा ब्रुअरी प्रा.ली, सह प्रायोजक वरुण वेभरेज लि.को पेप्सी, प्रायोजकहरुमा बन्दीपुर केवलकार लि. फोन पे, अन्नपुर्ण केवलकार लि, टोकला चिया रहेका छन् । इन्स्योरेन्स पार्टनरमा प्रभु इन्स्योरेन्स कम्पनी र प्रवद्र्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, पोखरा महानगरपालिकका रहेका छन् । उद्घाटन  कार्यक्रमको संचालन आयोजक संघका महासचिव राजेन्द्र ढकालले गरेका थिए ।

प्रतिक्रिया