पर्वतीय संग्रहालयमा सिटी टुर गाइडसँग छलफल

पर्वतीय संग्रहालयमा सिटी टुर गाइडसँग छलफल

museam (1)

पोखरा । अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयले मंगलबार पोखरा उपत्यकाका पथ प्रदर्शकहरुसँग छलफल गरेको छ । पोखरा–१७, रातोपहिरोमा रहेको संग्रहालयले पोखरा सिटी टुर गाइड एसोसियसनमा आवद्ध पथप्रदर्शकहरुसँग संग्रहालय प्रवद्र्धनका लागि कार्यक्रम गरेको हो ।
कार्यक्रममा गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालयका सचिव कुमानसिंह गुरुङले पर्वतीय संग्रहालय पोखराको सबैभन्दा आकर्षक मानव निर्मित पर्यटकीय गन्तव्य भएको बताए । उनले संग्रहालय प्रवद्र्धनका लागि प्रदेश सरकारले सघाउने प्रतिवद्धतासमेत गरे ।

‘यसको प्रवद्र्धनका लागि प्रदेश सरकारले पनि सघाउँछ,’ सचिव गुरुङले भने, ‘पथप्रदर्शक साथीहरुलाई पोखरा भ्रमणका मुख्य गन्तव्यमा यसलाई समावेश गर्न आग्रह गर्दछु ।’पोखरा सिटी टुर गाइड एसोसियसनका अध्यक्ष आनन्द गुरुङले पथप्रदर्शकहरुको योगदानलाई पहिचान गरी छलफल आयोजना गरेकोमा धन्यवाद दिए । उनले पर्वतीय संग्रहालय प्रवर्धनका लागि सघाउने प्रतिवद्धतासमेत जनाए । कार्यक्रममा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय समिति सदस्य शेषकान्त शर्माले हिमालको देशमा रहेको पर्वतीय संग्रहालय धेरै पर्यटकको रोजाइको गन्तव्यमा पर्ने गरेको उल्लेख गरे । कार्यक्रममा अध्येता सुनील उलकले पोखराको पर्यटकीय विकास र यहाँका सम्पदाबारे प्रस्तुति राखेका थिए ।

कार्यक्रम अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय समिति सदस्य धर्मराज पन्थीको अध्यक्षतामा भएको हो । संग्रहालयकी कार्यकारी निर्देशक निर्मलाकुमारी न्यौपानेले स्थानीय पथप्रदर्शकहरुलाई संग्रहालयबारे जानकारी दिन, पथप्रदर्शकका अनुभव सुन्न र भावी रणनीति बनाउन कार्यक्रम गरिएको उल्लेख गरिन् । ‘पर्वतीय संग्रहालयका सम्पदा, यहाँका विशेष सामग्रीबारे उहाँहरुलाई जानकारी दिन र उहाँहरुको अनुभव सुन्न कार्यक्रम गरिएको हो,’ न्यौपानेले भनिन् । विश्वकै सबैभन्दा ठूलो पर्वतीय संग्रहालय दाबी गरिएको यो संग्रहालयमा वर्षमा दुई लाख जति पर्यटक आउने गरेका छन् ।

प्रतिक्रिया

भर्खरै