नयाँ वर्षको स्वागतका लागि फेवा महोत्सवको तयारी

नयाँ वर्षको स्वागतका लागि फेवा महोत्सवको तयारी

Fewa meeting (2)
पोखरा। नयाँ बर्षको स्वागतका लागि २० औं पटक आयोजना गर्न लागिएको फेवा नव बर्ष महोत्सवको तयारी अगाडि बढाइएको छ । होटल संघ पोखरा नेपालले आगामी चैत ३० देखि वैशाख १ गते सम्म स्थानीय लेकसाइडमा यो महोत्सव आयोजना गर्न लागेको हो ।
महोत्सवलाई व्यवस्थित र सफल बनाउन विभिन्न उपसमितिहरु गठन गरी काम अगाडि बढाइएको महोत्सवका संयोजक एवं होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । अंग्रेजी नयाँ बर्ष जस्तै नेपाली नयाँ बर्षलाई पनि उत्तिकै महत्व दिएर मनाउने र नेपाली कला तथा संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्ने उद्धेश्य महोत्सवले लिएको संयोजक सुवेदीले प्रष्ट्याए । देशविदेशका पर्यटलाई पोखरामा आकर्षित गर्ने र फेवा तालको संरक्षणमा सचेतना फैलाउने उद्धेश्य पनि महोत्सवले बोकेको उनले बताए ।
ड्यामसाइडदेखि गैराको चौतारा सम्मको तीन किलोमिटर भन्दा लामो क्षेत्रमा सडकमै यो महोत्सव आयोजना हुने छ । निःशुल्क प्रवेशको व्यवस्था महोत्सवमा हुने आयोजक समितिले जनाएको छ । विभिन्न खानाका परिकार, नेपाली मौलिक कला र संस्कृति झल्कने नाचगान, पर्यटकीय स्टलहरु र खेलकूदका कार्यक्रम समेत महोत्सवमा समेटिने छन् ।
महोत्सवका आगन्तुक र पोखरा आउने पाहुनाहरुलाई संघले प्रदान गर्ने विशेष छुटको घोषणा छिटै गरिने संघले स्पष्ट पारेको छ । पछिल्लो क्रममा स्तरोन्नती हुँदै गरेको पृथ्वी राजमार्गको धेरैजसो खण्डको यात्रा पनि सहज हुन थालेको जनाउँदै संयोजक सुवेदीले पाहुनाहरुलाई नेपाली नयाँ बर्ष मनाउन पोखरा आउन आव्हान गरे । निकट भविश्यमै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट समेत अन्य राष्ट्र जोड्ने गरी उडान हुने तयारी भइरहेको आफूहरुलाई जानकारी प्राप्त भएको बताउँदै सुवेदीले पोखराको पर्यटनप्रति आफूहरु आसावादी भएको सुनाए ।
महोत्सवलाई व्यवस्थित रुपमा अगाडि बढाउन आयोजक समितिले हालै पोखरामा एक कार्यक्रमको आयोजना गरी उपसमितिका संयोजकहरुको जिम्मेवारी बाँडफाँड समेत गरेको थियो । संघका प्रथम र द्वितीय उपाध्यक्ष क्रमशः दीपक श्रेष्ठ र गणेशराज पहारी महोत्सवको सहसंयोजकका रुपमा रहेका छन् । संघका अन्य पदाधिकारी र सदस्यहरुलाई पनि विभिन्न जिम्मेवारी प्रदान गरिएको छ ।
कोभिड १९ बाट नराम्रो गरी प्रभावित भएको पर्यटनलाई लयमा फर्काउन समेत महोत्सव सहयोगी हुने अपेक्षा गरिएको छ । महोत्सवको प्रचार तथा आन्तरिक पर्यटकलाई बढवा दिन संघले दुई दशक अघि देखि जाउँ है पोखरा अभियान समेत संचालन गर्दै आएको महोत्सवका सहसंयोजक गणेशराज पहारीले स्मरण गराए ।  यसैबिच संघले नेपाल पर्यटन बोर्ड गण्डकीको प्रमुखका रुपमा पोखरा आएका मणिराज लामिछानेलाई कार्यक्रममा स्वागत गरेको थियो । सो अवसरमा प्रमुख लामिछानेले गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धनमा संघसँग हातेमालो गरेर अगाडि बढ्ने भनाई राखे ।

प्रतिक्रिया