पोखरा । पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप अभियानमा कास्कीका २६ हजार बालिकालाई खोप लगाइने भएको छ । कास्कीका पाँच वटै स्थानीय तहका गरी २६ हजार २ सय ९६ जनालाई खोप लगाउने लक्ष्य राखिएको प्रदेश जनस्वास्थ्य कायर्कालय कास्कीले बताएको छ ।
खोप अभियानलाई प्रभावकारी बनाउन आज आयोजित जिल्ला समन्वय समिति कास्कीका पदाधिकारी तथा सञ्चारकर्मीबीचको अन्तर्कियामा माघ २२ गतेदेखि फागुन ६ गतेसम्म सञ्चालने हुने अभियानमा ६ देखि कक्षा १० सम्मका बालिकाहरुलाई खोप लगाउन लागिएको जानकारी दिइयो । कार्यक्रममा खोप बारेको प्रस्तुति राख्दै प्रदेश जनस्वास्थ्य कार्यालय कास्कीका परिवार नियोजन निरीक्षक नरबहादुर सारुले खोप लगाउन विद्यालयलाई लक्षित गरी ४ सय १ केन्द्र निर्धारण गरिएको जानकारी दिए ।
कास्कीको मादी गाउँपालिकामा पुस २९ देखि फागुन १ गतेसम्म, माछापुच्छ्रे गाउँपालिकामा फागुन १ र २ गते, अन्नपूर्ण गाउँपालिकामा २२ देखि २७ गतेसम्म, रुपा गाउँपालिका २२ देखि २५ गतेसम्म र पोखरा महानगरपालिकामा माघ २२ देखि फागुन ६ गतेसम्म नै अभियान चल्ने उनले जानकारी दिए ।
अभियानको शुभारम्भ माघ २२ गते पार्दी मावि मुस्ताङचोकमा पूर्वान्ह ११ बजे गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले गर्ने कार्यक्रम तय भएको प्रदेश जनस्वास्थ्य कार्यालय कास्कीका प्रमुख रामबहादुर नेपालीले जानकारी दिए । उनका अनुसार विद्यालय नजाने बालिकाहरुले पायक पर्ने विद्यालयमा रहेको खोप केन्द्रमा पुगेर खोप लगाउनुपर्नेछ ।
कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलले यो अभियानलाई सफल बनाउन सबै पक्षको साथ र सहयोग आवश्यक पर्ने बताए । जिल्ला समन्वय समितिका प्रमुख पौडेलको अध्यक्षतामा कार्यक्रम भएको थियो । ६ देखि १० कक्षा सम्मका छात्राहरु र विद्यालय नजाने १० वर्षदेखि १४ वर्षसम्मका बालिकाहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप करिब १७ लाख बालिकालाई लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
अभियान बेला महिनावारी भएपनि एचपिभी खोप लगाउन सकिने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । एक अध्ययन अनुसर विश्वमा हरेक २ मिनेटमा एक जना महिला र नेपालमा ४ जना महिलाको मृत्यु पाठेघरको क्यान्सरबाट हुने गरेको छ ।