पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ देउपुजेमा सुविधासम्पन्न आवासीय ज्येष्ठ नागरिक सेवा केन्द्र निर्माण गरिएको छ । स्विजरल्यान्डका किसानहरुको संस्था एहमान फाउन्डेसनको पाँच करोड आर्थिक सहयोगमा बनेको ‘नाना मोहन ज्येष्ठ नागरिक सेवा केन्द्रको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरे । सो अवसरमा उनले मुख्य दलहरुबीचको सहमतिबाट नै संविधान संशोधन प्रक्रिया अघि बढ्ने बताए । विसं २०७२ मा जारी वर्तमान संविधानको सुरुआतदेखि नै समीक्षा गरिने उनले उल्लेख गरे ।
सञ्चारमन्त्री गुरुङले प्रतिनिधिसभा र राष्ट्रियसभाका विभिन्न संसदीय समितिमा रहेका विधेयकहरु र समितिमा रोकिएका विधेयकहरु मापदण्ड बनाएर छिटो टुंगो लगाउने सरकारको योजना रहेको बताए । सेवा केन्द्रका चार वटा भवन छन् । प्रतिष्ठानको पहलमा स्वीजरल्यान्डका दाताबाट सो सहयोग रकम प्राप्त भएको थियो । सेवा केन्द्रमा ६५ वर्ष उमेर माथिका असहाय, गरिब तथा विपन्न नागरिकहरुलाई आवासीय सुविधा सहित राखिने प्रतिष्ठानका संस्थापक वसन्त दवाडीले बताए ।
सेवा केन्द्रमा महिला तथा पुरुषका लागि छुट्टाछुट्टै भवन रहेका छन् । त्यसैगरी एउटा कर्मचारी र किचन तथा अर्को भवनमा क्लिनिक तथा पाहुनाका लागि व्यवस्था गरिएको छ । गरिब, विपन्न र असहायः वृद्धवृद्धाका लागि लक्ष्य गरिएपनि सेवा केन्द्रलाई आत्मनिर्भर बनाउनका लागि शुल्क तिरेरपनि वृद्धवृद्धा राख्न सकिने दवाडीले बताए । सेवा केन्द्र सञ्चालनका लागि सुरुआती तीन वर्षको सम्पूर्ण खर्च इहमान फाउन्डेसनलेनै बेर्होने उनको भनाइ छ । सेवा केन्द्रमा आश्रित ज्येष्ठ नागरिकहरुलाई क्लिनिक र फार्मेसी सहितको नर्सिङ सेवा, परामर्श सुविधा, पुस्तकालयको सुविधा रहेको छ ।
यसैगरी अडियो–भिजुअल ल्याब, योग र ध्यान कार्यक्रम तथा एकल, डबल वा साझा कोठा, स्नान गृहको व्यवस्था गरिएको प्रतिष्ठानका सचिव सुवासचन्द्र लम्सालले जानकारी दिए । उनका अनुसार अबको तीन महिनाभित्रमा सेवा केन्द्र पूर्ण रुपमा सञ्चालनमा आउनेछ । सेवा केन्द्र निर्माणका लागि नाना गुरुङ र मोहन गुरुङको स्मृतिमा उनका परिवारजन कर्णबहादुर गुरुङ, दुर्गाबहादुर गुरुङ, बरबहादुर गुरुङ र छोरी शुकमाया गुरुङले चार रोपनी जमिन दान दिएका थिए । कार्यक्रममा जग्गादाता तथा एहमान फाउन्डेसनका प्रतिनिधि माथियाज मारिया डोल्डलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष दीननाथ लम्साल, प्रमुख संरक्षक रविलाल पोखरेल, सल्लाहकार सूर्यप्रसाद लम्साल लगायतले सेवा केन्द्रबाट ज्येष्ठ नागरिकले लाभ लिने बताएका थिए । आमा स्मृति प्रतिष्ठानले घाचोकमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालन गरिरहेको छ । जसमा बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म वृद्धवृद्धाहरु बस्ने गरेका छन् ।