पोखरा । नेपाली काँग्रेस कास्कीले कास्कीमा पार्टीको एक सय दिने विशेष अभियान तीव्र पारेको छ । अभियानअन्तर्गत क्षेत्र, पालिका र वडास्तरमा कार्यक्रम तीव्र गतिमा सञ्चालन भइरहेको कास्की काँग्रेसका सहसचिव एवं प्रवक्ता नवीन सिग्देलले जानकारी दिए । ‘हरेक दिन जसो कुनै न कुनै कार्यक्रम भइरहेको छ,’ प्रवक्ता सिग्देलले भने, ‘अभियानलाई व्यवस्थित र प्रभावकारी बनाउन निकै मेहनत गरेका छौ ।’
कास्की क्षेत्र नम्बर १ मा पुस ७ गते, कास्की क्षेत्र नम्बर ३ मा पुस ९ गते क्षेत्रीयस्तरका कार्यक्रम भएका छन् । क्षेत्र नं २ मा कार्यक्रमको मिति पछि तय हुनेछ । पुस १० गतेदेखि भने पालिकास्तरमा कार्यक्रम सुरु भएको छ । माछापुच्छ«े गाउँपालिकामा पुस १० गते, अन्नपूर्ण गाउँपालिकामा पुस १३ गते, मादी गाउँपालिकामा पुस १८ गते, र रुपा गाउँपालिकामा पुस २० गतेका लागि कार्यक्रम तय भएको छ ।
कास्की कांग्रेसले कास्कीका ७२ वटा इकाइमा संयोजकसहित प्रतिनिधि खटाइसकेको छ । वडामा पुगेका प्रतिनिधिहरुले विभिन्न १० वटा बुँदामा छलफल गरी पार्टीलाई प्रतिवेदन बुझाउनुपर्ने छ । जनतासँग नजिक हुने, समस्या बुझ्ने, समस्या समाधानका लागि पहल गर्ने , र पार्टीलाई शक्तिशाली बनाउनका लागि यो अभियान अत्यन्त प्रभावकारी बनेको नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले बताए । अभियानका लागि केन्द्रीय प्रतिनिधिका रूपमा केन्द्रीय सदस्य गोविन्द भट्टराई कास्की आएका छन् ।