फिफा विश्वकप २०२६ मा बेल्जियम अन्तिम १६ मा प्रवेश गरेको छ। बेल्जियम २ गोलले पछि परेको अवस्था उल्टाउँदै सेनेगललाई अतिरिक्त समयमा ३-२ ले पराजित अन्तिम १६ को यात्रा तय गरेको हो । सिएटलमा भएको अन्तिम ३२ को खेलमा सेनेगलले २५ औं मिनेटमा हाबिब डिआरा र ५१औं मिनेटमा इस्माइला सारको गोलमा २-० को बलियो अग्रता बनाएको थियो। त्यसपछि बेल्जियम विश्वकपबाट बाहिरिने अवस्थामा पुगेको थियो।


तर खेलको अन्तिम ४ मिनेटमा बेल्जियमले उत्कृष्ट पुनरागमन गर्यो। ८६औं मिनेटमा वैकल्पिक खेलाडी रोमेलु लुकाकुले थोमस म्युनियरको क्रसमा गोल गर्दै टोलीलाई खेलमा फर्काए। तीन मिनेटपछि लिएन्ड्रो ट्रोसार्डको क्रसमा युरी टिलेमान्सले हेडमार्फत गोल गर्दै खेल २-२ को बराबरीमा पुर्याए। निर्धारित समय २-२ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो।
जब खेल पेनाल्टी सुटआउटतर्फ जाने अनुमान गरिएको थियो, अतिरिक्त समयको इन्जुरी समयमा बेल्जियमले पेनाल्टी पायो। भिएआर समीक्षा पछि रेफ्रीले बेल्जियमलाई पेनाल्टी दिएका थिए। टिलेमान्सले अतिरिक्त समयको इन्जुरी समयको पाँचौं मिनेटमा पेनाल्टीलाई गोलमा परिणत गर्दै बेल्जियमलाई ३–२ को रोमाञ्चक जित दिलाए। बेल्जियमले अब उसले अमेरिका वा बोस्निया–हर्जेगोभिनामध्ये एक टोलीसँग खेल्नेछ।
दुई गोलको अग्रता जोगाउन नसक्दा सेनेगल विश्वकपको अन्तिम ३२ बाटै बाहिरिएको छ। एजेन्सी ।
