ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक स्तरोन्नति

ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक स्तरोन्नति

mygdi

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकामा ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक स्तरोन्नति योजना सम्पन्न भएको छ । मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि वडा नम्बर १ को कार्यालय रहेको निस्कोट जोड्ने सडक स्तरोन्नतिका लागि विसं २०७८ देखि सुरु भएको योजना पाँच वर्षपछि पूरा भएको हो ।

छ महिनामा सम्पन्न गर्ने लक्ष्यसहित विसं २०७८ माघ ७ मा निर्माण कम्पनीले रु दुई करोड ८३ हजारमा ठेक्का सम्झौता गरेको थियो । उक्त ठेकेदारसँगको सम्झौता योजना सम्पन्न हुदाँसम्म सातौँ पटक थपिएको गाउँपालिकाले जनाएको छ । ९० प्रतिशत भौतिक प्रगति भएको योजनामार्फत भएका कामको प्राबिधिक नापजाँच र मूल्याङ्कन गरी ठेक्का सम्झौता अन्त्य गर्ने प्रक्रिया अघि बढाएको गाउँपालिकाका पूर्वाधार शाखा प्रमुख दीपक सापकोटाले बताउनुभयो ।

योजनामार्फत घोर्सीडाडाँ क्षेत्रमा १९० मिटर दूरीमा सडक ढलान, फराकिलो पार्ने, घुम्ती र ग्रेड सुधार, सोलिङ, ग्यावियन र टेवा पर्खाल निर्माण भएको पूर्वाधार शाखा प्रमुख सापकोटाले बताउनुभयो । निस्कोटदेखि ताराखोलातर्फ जाने सडकको मार्ग पनि खोलिएको छ । यो सडकले मालिका गाउँपालिकाको वडा नम्बर १ निस्कोट र २ बिलबाङ, रुमलाई पालिकाको केन्द्र दरवाङ बजारसँग जोड्छ । मालिका गाउँपालिका–२ का सोमबहादुर दर्जीले अप्ठ्यारो ठाउँमा ढलान, घुम्ती र मोड सुधार गरेपछि यात्रा सहज बनेको बताउनुभयो । सडक स्तरोन्नति योजनालाई निरन्तरता दिनुपर्ने उहाँको भनाइ छ । निस्कोट हुँदै बाग्लुङको ताराखोला गाउँपालिका पनि जोडिने भएकाले रणनीतिक महत्वको योजना भएको मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले बताउनुभयो ।

 गत आर्थिक वर्ष २०८१/८२ मा रु एक करोड बजेट विनियोजन भएको निस्कोट–ताराखोला जोड्ने सडक निर्माण गर्न भएको ठेक्का समझौता वनसम्बन्धी मुद्दा परेपछि तोड्नुपरेको गाउँपालिकाका अध्यक्ष गर्बुजाले बताउनुभयो ।

प्रतिक्रिया