पोखरा । पृथ्वी राजमार्गको पोखरा मुग्लिन सडक अन्तर्गत पश्चिमतर्फ पोखरा— जामुने खण्डमा सडक विस्तारको काम निकै सुस्त देखिएको छ । काम सुरु भएको तीन वर्षमा जम्मा ३२ प्रतिशत मात्रै काम भएको छ । उक्त खण्डमा २०७८ भदौदेखि काम सुरु भएको हो । ठेक्काको म्याद सकिएपछि थपिएको १ सय दिन पनि सकिँदै छ । मंसिर २० गते थपिएको म्याद सकिन लागेपछि अब एक वर्ष म्याद थपका लागि निर्माण कम्पनीले प्रक्रिया अगाडि बढाएको आयोजनाका इन्जिनियर सौजन्य नेपालले जानकारी दिए ।
चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सनले ३ वर्षमा काम सक्ने गरी ठेक्का सम्झौता गरेपनि ठेक्का अवधिमा एक चौंथाइ मात्र काम भएको छ । काम समयमा नसकिँदा राजमार्गमा भएर दिनहुँ आवतजावत गर्ने यात्रु तथा सावारी सधानले निकै सास्ती व्यर्होनु परेको छ । कास्की र तनहुँमा पर्ने पश्चिम खण्डमा तीनवर्षे ठेक्का अवधि गत भदौमा सकिएपछि दुई पटक म्याद थप हुन लागेको हो । दशैं तिहारको बिदापछि अहिले कामले तीव्रता पाएपनि अबको एक वर्षमा सम्पूर्ण काम पूरा हुने आधार भने नदेखिएको जानकारहरुको भनाइ ।
आयोजनाका इन्जिनियर नेपालले भने अहिलेको कामको गतिले एक वर्षमा काम पूरा हुने दाबी गर्छन् । तालचोकदेखि गगनगौँडासम्मको क्षेत्रमा बाहेक अन्य सबै ठाउँमा सडक विस्तारको काम भने सुरु भएको छ । चार लेनको उक्त सडकमा हालसम्म एकतर्फी २२ किमी सडक, पश्चिमतर्फ तनहुँको थर्पु, तुरतुरे, कास्कीको तल्लो गगनगौंडा र पोखराको चाउथे लगायत खण्डमा केही कालोपत्र भएको छ । पश्चिम खण्डअन्तर्गत तनहुँको जामुनेबाट पोखराको सेती पुलसम्मको आधा सडक छ लेन र आधा चार लेनको बन्ने इञ्जिनियर नेपालले जानकारी दिए ।
वियजपुर खोला र सेती नदीमा पुल निर्माणको काम पनि सँगसँगै भइरहेको छ । सडक विस्तारसँगै पुल, कल्भर्ट, नालीलगायत पूर्वाधार निर्माणको काम भइरहेको छ । निर्माण कम्पनीले एक वर्षभित्रमा निर्माण पूरा गर्ने प्रतिबद्धता जनाएको छ । कोभिड–१९ महामारीलगायत कारणले सुरुको चरणमा केही ढिलाइ भएको ने्पालले बताए । पश्चिमतर्फ बढी सहरी क्षेत्र र सडकको अधिकार क्षेत्रभित्रका संरचना, विद्युत् पोल, खानेपानीका पूर्वाधार समयमा व्यवस्थापन हुन नसक्दा पनि सडक विस्तारमा ढिलाइ हुन पुगेको छ । ३८ दशमलव ८८ किमी दूरीको पश्चिम खण्डमा पर्ने १२ मध्ये नौवटा सडक पुल निर्माणको अन्तिम चरणमा रहेको आयोजना कार्यालयले जनाएको छ ।
सडक मापदण्डभित्र पर्ने घरटहरा हटाउने र मुआब्जा दिने काम पनि सकिएको जनाइएको छ । पर्यटकीय राजधानी पोखरा जोड्ने मुख्य सडकमार्ग विस्तार तथा स्तरोन्नति समयमा पूरा नहुँदा जनगुनासो बढेको छ । निर्माणको चरणमा रहेको सडकबाट आवातजावत गर्दा पर्यटकलगायत सर्वसाधारणलाई सास्ती थपिएको छ । चिनियाँ निर्माण कम्पनीले ७ अर्ब ४० करोड ४६ लाखमा पश्चिम खण्ड निर्माणको जिम्मा लिएको हो । ८१ किमी लामो पोखरा–मुग्लिन विस्तारका लागि एसियाली विकास बैंकले ऋण प्रदान गरेको हो । आयोजनाको पूर्वी सडक खण्ड (जामुने–मुग्लिन)मा भने हालसम्म भौतिक प्रगति ६८ प्रतिशत भएको छ ।