सर्लाही । सर्लाहीको बसबरिया गाउँपालिका–१, मानपुरका एक युवकले आफ्नै बुवा र भिनाजुलाई फसाउने नियतले छिमेकीको हत्या गरेको रहस्य बाहिरिएको छ। असार ७ गते मानपुरका ५३ वर्षीय होसनारायण राय यादवको घरमा सुतिरहेका बेला धारिलो हतियार प्रहार गरी हत्या भएको थियो । प्रहरीले सोही हत्याको आरोपमा मृतकका छिमेकी २५ वर्षीय सन्तोषकुमार रायलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीले बिहीबार सदरमुकाम मलङ्गवामा पत्रकार सम्मेलन गरी हत्या आरोपी सन्तोषलाई सार्वजनिक गरेको हो ।


प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार असार ६ गते मोबाइलको निहुँमा आरोपी सन्तोषको आफ्नै बुवा श्यामबाबु रायसँग झगडा भएको थियो । बुवा श्यामबाबु र भिनाजु रामविलास रायसँग बारम्बार पैसा माग्दा पनि नदिएपछि सन्तोष आक्रोशित बनेका थिए । सोही कारण आफ्नो घरमा बारम्बार आइरहने छिमेकी होसनारायणको हत्या गरेमा बुवा र भिनाजु स्वतः फस्ने योजना बनाई सन्तोषले सो घटना घटाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) रवीन्द्रनाथ पौडेलले जानकारी दिनुभयो । खराब आचरणका कारण सन्तोषलाई परिवारले यसअघि सुधार केन्द्रमा समेत राखिसकेको एसपी पौडेलले बताउनुभयो ।
प्रहरीका अनुसार सन्तोषले धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् । हत्या गर्न जाँदा र हत्यापछि फरार हुँदा उनले चोरीको ना. ४५ प. २६८५ नम्बरको मोटरसाइकल प्रयोग गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । होसनारायणको हत्यापछि सन्तोषले उक्त मोटरसाइकल लालबन्दी नगरपालिका–२, नवलपुर क्षेत्रमा छाडेर फरार भएका थिए । असार ८ गतेदेखि बेवारिसे अवस्थामा रहेको सो मोटरसाइकलबारे प्रहरीलाई असार १४ गते मात्र जानकारी प्राप्त भएको थियो ।

प्रहरीले असार १६ गते बरहथवा नगरपालिका–७, बरहथवा बजार नजिकबाट सन्तोषलाई पक्राउ गरेपछि उनले मोटरसाइकल नवलपुरमा छाडेको स्वीकार गरेका थिए । घटनास्थल नजिकैको एक पसलमा जडान गरिएको सिसी टिभी क्यामेराको फुटेज र प्राविधिक सहायताका आधारमा प्रहरीले सन्तोषलाई पक्राउ गर्न सफल भएको हो ।
हत्यापछि सन्तोषले खेतमा फ्याँकेको हँसिया प्रहरीले बरहथवा नगरपालिका–१३ बाट बरामद गरेको छ । सन्तोषमाथि कर्तव्य ज्यान र चोरी मुद्दामा सर्लाही जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) गोपीकृष्ण सुवेदीले बताउनुभयो ।