काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले सुन तथा चाँदीका गरगहना अवैध रूपमा नेपाल भित्र्याउने प्रयास भएको घटनामा करिब ७१ लाख ७२ हजार १२१ रुपैयाँ बराबरका सुन र चाँदीका गरगहना बरामद गरेको छ।


विमानस्थल सुरक्षा कार्यालयका अनुसार असार १६ गते काठमाडौं सुनचाँदी व्यवसायी संघ, क्षेत्रपाटीबाट परीक्षण गर्दा सुन तथा चाँदीजस्तै देखिने गरगहनाहरू फेला परेका हुन्। परीक्षणका क्रममा गरगहनामा २५८.५६ ग्राम सुन (अनुमानित मूल्य रु. ६७ लाख ३६ हजार २५०) र ३ केजी ११४.६५० ग्राम चाँदी (अनुमानित मूल्य रु. ४ लाख ३५ हजार ८७१) रहेको पुष्टि भएको छ।
बरामद गरिएका सुन र चाँदीका गरगहनाको कुल मूल्य रु. ७१ लाख ७२ हजार १२१ रहेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानअनुसार उक्त गरगहना कुरियरमार्फत ल्याइएको सामानभित्र लुकाई ‘डिक्लेयर’ गरेर भन्सार प्रक्रिया पूरा गर्ने प्रयास गरिएको देखिएको छ।

घटनाका सम्बन्धमा त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरबाट थप अनुसन्धान भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।