जागरण सभा एमालेको काठमाडौं उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटीको संयुक्त आयोजनामा हुन लागेको हो । यसअघि भृकुटीमण्डपमा गर्न लागिएको कार्यक्रम त्यहाँ ठाउँ साँघुरो हुने भएकाले दरबारमार्गमा सारिएको एमालेले जनाएको छ । समाजमा सरकार र एमालेविरुद्ध उठाइएको योजनाबद्ध रूपको अराजकता, अनुशासनहीनता तथा अराजनीतिक व्यवहारलाई चिर्न जागरण सभा गर्न लागिएको एमाले बागमती प्रदेश कमिटी अध्यक्ष कैलाशप्रसाद ढुंगेलले बताए । ‘
सरकारमा रहेको बेला पनि सरकारमा सामेल राजनीतिक दलले जनतालाई अपील गर्न पाउने ढुंगेलले प्रष्ट पारे । यस्ता कार्यक्रम अन्य मुलुकमा पनि हुने गरेका र नेपालमा पनि यसअघि बारम्बार हुने गरेका ढुंगेलले सुनाए । सरकारमा रहेका दलको प्रमुख काम सेवा प्रवाह गर्नु नै भएको बताउँदै ढुंगेललले यस बाहेक आफ्ना कुरा जनताका बीचमा लैजान राजनीतिक दललाई कसैले रोक्न नसक्ने स्पष्ट पारे । ‘यति बेला सरकार, पार्टी, नेता, देश, संविधान र व्यवस्थालाई नै थ्रेट छ, देशी, विदेशीको उक्साहटमा लाग्ने केही अराजक र अराजनीतिक मानिसहरूले जुन भाष्य निर्माण गरेका छन्, त्यसको विपक्षमा जनतालाई सजग गराउन यो कार्यक्रम आयोजना गरिएको हो’, उनले भने ।
देश र व्यवस्थालाई बलियो बनाउँछु भन्ने पार्टीलाई कमजोर बनाएर देशलाई खरानी बनाउने योजना बनाउनेका विपक्षमा आज कार्यक्रम भएको ढुंगेलले स्पष्ट पारे । आजकाे सभामा सहभागी हुन कास्कीबाट पनि स्वतफूर्त रुपमा नेता कार्यकर्ता काठमाडौं गएको एमाले कास्कीका अध्यक्ष बैनबहादुर क्षेत्रीले बताए ।