स्वदेशी पर्यटकको रोजाइमा मुस्ताङ, २ महिनामा १ लाख ७३ हजारले गरे भ्रमण

स्वदेशी पर्यटकको रोजाइमा मुस्ताङ, २ महिनामा १ लाख ७३ हजारले गरे भ्रमण

-Mustang-

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङ आन्तरिक पर्यटकको रोजाइमा परेको छ । गत दुई महिनामा १ लाख ७३ हजार पर्यटकले मुस्ताङको भ्रमण गरेका छन् । उजाड पहाड, हिमाली हावापानी, संस्कृति र जीवनशैली, ताल, गुम्बा, मुक्तिनाथ मन्दिर, गुफा मुस्ताङका आकर्षण हुन् । मुक्तिनाथ, जोमसोम, कागबेनी, लोमान्थाङ, मार्फा, ठिनी, धुम्बा ताललगायत मुस्ताङमा धार्मिक र पर्यटकीयस्थल रहेका छन् ।

असोज र कात्तिक महिनामा एक लाख ४४ हजार १ सय ५५ जना स्वदेशी र २८ हजार ९ सय ७६ जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार असोज महिनामा ५९ हजार ८३१ र कात्तिकमा एक लाख १३ हजार ३०० जना पर्यटक हवाई तथा स्थलमार्ग भएर मुस्ताङ भित्रिएक हुन् ।

प्रहरीले घाँसामा सडकमार्ग र जोमसोम विमानस्थलको चेक पोष्टमा हवाईमार्गबाट भित्रनेको अभिलेख राख्ने गरेको छ । असोजमा बेनी–जोमसोम सडक भएर ५७ हजार ९ सय ८२ र पोखरा–जोमसोम हवाईमार्गबाट एक हजार ८४९ जना मुस्ताङ भित्रिएका हुन् । कात्तिकमा सडकबाट एक लाख ११ हजार ६ सय ५५ र हवाईमार्गबाट एक हजार ६ सय ४५ जना पर्यटक मुस्ताङ पुगेका प्रहरीको तथ्याङ्क छ । दसैँतिहार पर्व र बिदाको अवसर पारेर मुस्ताङ घुम्न आउनेहरूको सङ्ख्या अन्य महिनाको तुलनामा असोज र कात्तिकमा धेरै हुन्छ ।

सडक यातायातको सुविधा, अन्नपूर्ण चक्रीय पदमार्गलाई विश्वप्रसिद्ध सञ्चार माध्यमले संसारका उत्कृष्ट दश गन्तब्यमा समेट्नु, प्रचारप्रसार, डिजिटल मार्केटिङ, सुविधायुक्त होटल खुलेका कारण पर्यटक आगमन बढेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापको इलाका संरक्षण कार्यालय जोमसोमका प्रमुख प्रमोदराज रेग्मीले बताए ।

मुस्ताङ भित्रने विदेशी पर्यटकमध्ये भारतीय धेरै छन् ।  म्याग्दी हुँदै सडकमार्ग, मुस्ताङको थोराङ्ला भञ्ज्याङ हँुदै पैदलमार्ग र पोखराबाट हवाईमार्ग भएर पर्यटक त्यहाँ पुग्ने गरेका छन् ।

प्रतिक्रिया