पोखरा । पर्वतको मालढुंगा–बेनी सडक खण्ड आजदेखि दैनिक ६ घण्टा बन्द हुँदैछ । गण्डकी प्रदेशलाई चीन र भारत सिमासँग जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर अन्तर्गत पर्ने उक्त सडक कालोपत्र र स्तरोन्नति गर्न आजदेखि मंसिर ११ गतेसम्म दैनिक ६ घण्टा बन्द हुने भएको हो ।
बेनी–जोमसोम–कोरला सडक आयोजनाका सूचना अधिकारी विष्णु चापागाईंका अनुसार आज बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सवारीसाधन आवतजावत रोकेर सडक निर्माण कार्य हुनेछ । पर्वतको कुश्मा नगरपालिका–१ मालढुंगामा ढुंगा फुटाएर पन्छाउन र मालढुंगादेखि लस्तीसम्म कालोपत्र गर्न ‘प्राइमकोट’ बिछ्याउन सवारीसाधन बन्द गर्न लागिएको हो । म्याग्दी र मुस्ताङ आवतजावत गर्ने सवारीसाधनको चापका कारण निर्माण प्रभावित भएकाले समय तालिका बनाइएको हो । सडक बन्दको समयममा मालढुंगा–बागलुङ–बेनी सडक प्रयोग गर्न आयोजनाले अनुरोध गरेको छ ।
अत्यावश्यक एम्बुलेन्स, दमकल र शववाहन सञ्चालनमा भने सहजीकरण गरिने आयोजनाले जनाएको छ । कुश्मा–१ मालढुङ्गाबाट जलजला गाउँपालिका हुँदै म्याग्दीको सदरमुकाम बेनी जोड्ने सडक कालोपत्र गर्न सञ्चालित आयोजनाको भौतिक प्रगति ६२ प्रतिशत छ । १३ किमी दूरीको बेनी–मालढुङ्गा सडकलाई ११ मिटर फराकिलो बनाएर अस्फाल्ट प्रविधिको कालोपत्र र ढलान गर्न बेनी–जोमसोम–कोरला सडक आयोजना र एपेक्स–खड्का–कृष्ण जेभीबीच विसं २०७७ चैतमा रु ५२ करोड ८६ लाखमा ठेक्का सम्झौता भएको थियो ।
तीस महिनामा काम सम्पन्न गर्नेगरी सम्झौता भए पनि निर्माण व्यवसायीले विभिन्न कारण देखाउँदै ढिलाइ गरेको हो । यो सडक चालु आर्थिक वर्षभित्र सम्पन्न गर्नेगरी कामलाई तीब्रता दिइएको आयोजना कार्यालयले बताएको छ ।