सहकारी ठगीमा दोषी देखिए जोसुकैलाई पनि कारबाही हुन्छ : ईश्वर पोखरेल

राजनीति

सहकारी ठगीमा दोषी देखिए जोसुकैलाई पनि कारबाही हुन्छ : ईश्वर पोखरेल

uml kaski

पोखरा । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सहकारीको रकम अपचलनमा दोषी देखिएका जो सुकैलाई पनि कारबाही हुने बताएका छन् । नेकपा एमाले कास्कीले आज पोखरामा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रममा उनले एमालेकै नेता, कार्याकर्ता नै सहकारी ठगीमा दोषीदेखिए कारबाही हुने बताए । ‘ एमाले पार्टीकै नेता, कार्याकर्ता वा जोसुकनै भएपनि दोषी देखिए कानुनी कारबाही हुन्छ,’ उनले भने,‘ यो पार्टी, वा त्यो पार्टीका मान्छे भनेर कसैले छुट पाउँदैनन्, कारबाही भोग्नै पर्दछ ।’

चुनावमा कांग्रेस र एमालेकै प्रतिष्पर्धा हुने भएपनि देशको आवश्यकता अनुसार अहिले सत्ता सहकार्य भएको उनले बताए । नेपालको राजनीतिक र सामाजिक परिवर्तनमा एमाले र नेपाली कांग्रेसको महत्वपूर्ण भूमिका छ,’ उनले भने,‘ राष्ट्र संकटमा परेको वा राष्ट्रिय समस्या समाधान गर्न दुई पार्टीबीचको सहकार्य अपरिहार्य छ, अहिलेको परिस्थिति पनि त्यहीँ हो ।

’नेकपा एमाले कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा एमाले गण्डकी इन्चार्ज किरण गुरुङ, स्थायी कमिटी सदस्य तथा गण्डकीका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी, एमाले कास्कीका उपाध्यक्ष भेषराज बराल, सचिव दर्शन लामा, नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराल लगायतले बोलेका थिए ।

नेपालीका चाडपर्व विजया दशमी, तिहार, नेपाल सम्वत, छठ, इद, तमु ल्होसार लगायतका अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो । गत असोज ११ र १२ गतेको बाढी पहिरोले ठूलो धनजनको क्षति भएपछि सरकारले राष्ट्रिय शोक घोषणा गरेकाले असोज १७ गते घटस्थापनाको दिन गर्ने भनिएको कार्यक्रम स्थागित गरी आज गरिएको हो । नेपालीका चाडपर्वका अवसरमा प्रत्येक वर्ष नेकपा एमाले कास्कीले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रिया