स्वास्थ्यप्रति वडाबासीलाई सचेत गराउन पोखरा ५ मा ३ योग साधना केन्द्र निर्माण

स्वास्थ्यप्रति वडाबासीलाई सचेत गराउन पोखरा ५ मा ३ योग साधना केन्द्र निर्माण

yog

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ५ मा ३ वटा योग साधना केन्द्र निर्माण गरिएको छ । योगका माध्यमबाट वडाका बासिन्दालाई स्वास्थ्यप्रति सचेत गराउनुका साथै स्वस्थ नागरिक अभियान अन्तर्गत योग साधना केन्द्र स्थापना गरिएको वडाध्यक्ष विष्णुप्रसाद बरालले बताए ।
मनकामना मन्दिर परिसरमा निर्माण गरिएको योग साधना केन्द्रको वडाध्यक्ष बरालले उद्घाटन गरे ।

वडाले मालेपाटन वडा सदन, प्रस्र्याङ बगैंचा पार्कमा यसअघि नै साधना केन्द्र स्थापना गरेको थियो । तीन वटै साधना केन्द्रमा गरी २ सय ५० जनाले एकै पटक योग साधना गर्न सक्नेछन् । दिनको एक घन्टा योगाभ्यास, प्राणायाम र ध्यान गर्दा शरीर, मन, भावना र चेतना स्वस्थ बन्ने पतञ्जली योग समिति नेपाल गण्डकीका संयुत्त, प्रदेश प्रभारी दीपकराज सिग्देलले बताए ।

‘एउटा सामान्य मोबाइललाई त चार्ज गर्नुपर्छ भने मानिसलाई पूर्ण स्वस्थ बनाउन रिचार्ज गर्नैपर्ने हुन्छ,’ सिग्देलले भने, ‘चार्ज केबल शरीरको मात्र गरेर हुँदैन । खानु, पिउनु, निदाउनुजस्ता आवश्यकता सामान्य हुन्, स्वस्थ्य रहन आहारविहारप्रति सजग र नित्य योगाभ्यास जरुरी छ ।’ रोग लाग्न नदिने भन्दा पनि स्वस्थ रहनेतर्फ सचेत गराउने योगको उद्देश्य रहेको उनको भनाइ छ ।

मनकामना विकास समितिका अध्यक्ष पुष्पराज बरालको अध्यक्षतामा भएको कार्यक्रममा पतञ्जली योग समिति गण्डकीका प्रदेश प्रभारी नागेन्द्र लालचन, महानगर कर्मचारी यदुनाथ बराल लगायतले योग साधनाका बारेमा चर्चा गरेका थिए ।

प्रतिक्रिया