रविलाई म्याद थपका लागि अदालत उपस्थित गराइने, समर्थक र सहकारी पीडित प्रदर्शनको तयारीमा

रविलाई म्याद थपका लागि अदालत उपस्थित गराइने, समर्थक र सहकारी पीडित प्रदर्शनको तयारीमा

rabi-lamichhane-2

पोखरा । सहकारी ठगीको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराइने भएको छ । शुक्रबार पक्राउ परेका पूर्वगृहमन्त्री समेत रहेको रविलाई म्याद थपका लागि आज अदालत लान लागिएको हो ।
सहकारीको रकम अपचलन र संगठित अपराध मुद्दामा अनुसन्धानका लागि उनलाई प्रहरीले शुक्रबार काठमाडौंमा पक्राउ गरी कास्की पठाएको थियो ।

हिजो शनिबार बिदा परेकाले आज उनलाई अदालतमा उपस्थित गराइने भएको हो । रवि पक्राउ परेपछि रास्वपाका कार्यकर्ता आक्रोसित बनेका छन् उनीहरुले शनिबार दिनभर जसो रविको पक्षमा पोखरामा प्रदर्शन गरेका छन् । रविको पक्ष मात्र नभइ विपक्षमा पनि प्रदर्शन भएको छ । सहकारी पीडितले पनि प्रर्दशन गरेका छन् ।

रविलाई अदालत उपस्थित गराउने समयमा रविका समर्थक र सहकारी पीडितले छुट्टाछुट्टै ठाउँमा प्रदर्शनको तयारी गरेका छन् । प्रर्दशनलाई ध्यानमा राखेर कास्की प्रशासनले भने सुरक्षा व्यवस्थालाई कडा बनाएको छ । पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको मुख्य आरोप लामिछानेमाथि छ । रवि लामिछानेको नामै किटान गरेर सहकारी पीडितले २०८० माघ २२ मा जिल्ला प्रहरी कार्यालय कास्कीमा पूरक जाहेरी दिएका थिए । उनीहरूकै जाहेरीका आधारमा पूरक अनुसन्धान भएर लामिछानेको समेत संलग्नता देखिएको छ ।
संसदीय छानबिन समितिले गोर्खा मिडियामा विभिन्न सहकारीबाट ६५ करोड रकम गोर्खा मिडिया प्रालिमा गएको र त्यसको रकम खर्च गर्दा गोर्खा मिडियाका तत्कालीन कार्यकारी निर्देशन लामिछानेको संलग्नता देखिएको निष्कर्ष निकालेको थियो । गोर्खा मिडिया प्रालिका सञ्चालक छविलाल जोशी असोज ६ गते पक्राउ परी कास्की प्रहरीकै हिरासतमा छन् । उनको बयान सकिएको छ । थप अनुसन्धानको लागि शुक्रबार प्रहरीले अदालतबाट उनलाई थुनामा राख्ने म्याद थपेको छ ।

प्रतिक्रिया