पोखरा । पोखराको सूर्यदर्शन सहकारी रकम अपचलन गरेको आरोपमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीमाथि अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले २० दिनको समय दिएको छ ।
गत ६ असोजमा पक्राउ परेका जोशीलाई कास्की प्रहरीले हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ । अदालतले १७ असोजदेखि लागू हुने गरी २० दिनको म्याद थप गरेको कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।
दशैं बिदाका कारण १७ असोजपछि अदालत बन्द भएपछि आज समय थप गरिएको हो । जोशी भने प्रहरीको हिरासतमै छन् । अनुसन्धानका लागि जोशीलाई प्रहरीले ६ असोजमा काठमाडौंबाट पक्राउ गरेको थियो ।
गोर्खा मिडियाका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक जोशीको हस्ताक्षर चल्ने गरी खोलिएको खातामा विभिन्न सहकारीबाट ६५ करोड ५४ लाख ल्याएर खर्च गरिएको थियो । गत असोज ६ गते उपत्यका अपराध अनुसन्धान कार्यालयले जोशीलाई काठमाडौंबाट पक्राउ गरी विमानमार्फत् पोखरा ल्याएको थियो ।