काठमाडौं । यस वर्ष नवरात्रमा तिथि वृद्धि भएकाले आजपनि महाअष्टमीकै कर्म गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। समितिले स्वीकृति दिएको पात्रोमा कात्तिक १ र २ गते दुवै दिन महाअष्टमी उल्लेख गरिएको छ।

कात्तिक १ गते गरिएको महाअष्टमीको कर्म आज २ गते पनि दसैँ घर वा पूजाकोठामा गर्नुपर्ने समितिका पूर्वसदस्य एवं वाल्मिकी विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्रा डा देवमणि भट्टराईले बताएका छन्। कात्तिक २ गते नवरात्रको नवौँ दिन भएपनि कर्म भने आठौँ दिनमा गरिने नै गर्नुपर्छ। दसैँ घर पूजाकोठामा कात्तिक २ गते सोमबार पनि नव दुर्गामध्येकी आठौँ देवी महागौरीकै पूजा आराधना गर्नुपर्छ। अन्य कर्म पनि महाअष्टमीकै दोहो¥याउनुपर्ने उनले बताए।
आश्विन शुक्ल अष्टमीको राति गरिने कालरात्रि पूजा भने कात्तिक १ गते राति नै गर्नुपर्ने पनि समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख गरिएको छ। अष्टमी दुई दिन भएकाले यस वर्ष नवरात्र पनि दशरात्र बन्न पुगेको छ। विजयादशमीका दिनमा टीका लगाउँदा १० रात्रिका जमरा लगाइने भएको छ। देवीको साधना एवं पूजा, आराधना गर्न एक दिन बढ्दा केही फरक नपर्ने धर्मशास्त्रविद्हरुको भनाइ छ।